अर्जुनधारा नगरपालिकाको खुदुनावारी क्षेत्रमा एकीकृत घुम्ति शिविर, सरकार नागरिकहरुका घर दैलोमा आएको अनुभुति भएको स्थानीयको धारणा

0

केशवराज भण्डारी

अर्जुनधारा, २५ माघ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं. १, २ र ३ लाई लक्षित गरी एकीकृत घुम्ति शिविर सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय झापाको संयोजनमा एकिकृत घुम्ति शिविर सञ्चालन भएको हो । शिविरमा वडा नं. १, २ र ३ का करिव २५ सय जना सर्वसाधारण नागरिकले सेवा लिएका छन् ।

शिविरमा नागरिकता वितरण, फोटो सहितको मतदाता नामावली संकलन, निशुल्क आँखा शिविर, साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा आयोडिन युक्त नुन वितरण, स्वास्थ्य शिविर, आयुर्वेद स्वास्थ्य शिविर, सशस्त्र प्रहरीबाट विपद ब्यवस्थापनका लागि प्रविधिको प्रस्तुती, सर्प दंश प्राथमिक उपचार विधिको जानकारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाबाट पशु स्वास्थ्य तथा वाँझोपन निवारण शिविर, कृषि ज्ञान केन्द्र झापाबाट घुम्ति बाली उपचार शिविर, माटो रिक्षण लगायतका सेवाहरु प्रवाह भएका छन् । अर्जुनधाराका मेयर हरिकुमार राना र झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, उपमेयर कमला खतिवडा, वडा नं. ३ का वडा अध्यक्ष जीवनकुमार भण्डारीले नागरिकता वितरण गरेर शिविरको उद्घाटन गर्नु भएको थियो ।

नागरिकहरुलाई घर घरमा सेवा प्रवाह गर्ने उध्येश्य राखेर शिविर सञ्चालन गरेको वताउँदै अर्जुनधारा नगरपालिका वडा नं. ३ का अध्यक्ष जीवनकुमार भण्डारीले भन्नुभयो, स्थानीय सरकार नागरिकहरुका घर दैलोमा आएको अनुभुति गराउँदै सहज तवरले सेवा प्रवाह गर्न शिविर सञ्चालन गरेका हौं । आफुलाई आँखाको समस्या परेको तर आँखा अस्पताल जान नसकेको वताउँदै अर्जुनधारा ३ का युवराज दुलालले भन्नुभयो, मेरो आँखा घर आगनमै आएको शिविरमा जाँच गर्न पाउँदा खुसी छु । यही मौकामा छोराको फोटो सहितको मतदाता नामावली पनि बनाउन पाएँ । जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित शिविरले नागरिकलाई जिल्ला धाउनु पर्ने झन्जटबाट मुक्ति मिलेको प्रधानाध्यापक जयप्रकाश भण्डारीले बताउनुभयो । ०००००००

Share.

Leave A Reply