इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका १५७ जना मध्ये एक जना नेपाली रहेको पुष्टि

0

विर्तामोड, २७ फागुन ।

इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका १५७ जना मध्ये एक जना नेपाली रहेको खुलेको छ । इथियोपियाको राजधानी एडिस अब्बासबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ मा सवार सबै यात्रु र चालक दलका सदस्यको ज्यान गएको हो ।
विमानमा ३५ देशका नागरिक सवार थिए । त्यसमध्ये एक नेपाली महिला एकता अधिकारीको ज्यान गएको हो । उनी इथियोपियाको राजधानी एडिस अब्बासमा रहेको विश्व खाध्य कार्यक्रम (डब्लुएफपी) मा कार्यरत थिइन् । उनी नैरोबीमा हुने डब्लुएफपीको एक बैठकका लागि जाँदै थिइन् । उनी सन् २०१८ को सेप्टेम्बरमा इथियोपिया गएकी हुन् । उनी नेपाल र पपुवा न्युगिनीसहित झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत थिइन् ।
इथियोपियन एयरलाइन्सको विमान राजधानी एडिस अब्बासबाट उडेको केही समयमै दुर्घटनामा परेको थियो । विमानमा १४९ यात्रु र चालक दलका ८ सदस्य थिए ।
ज्यान गुमाउनेमा सबैभन्दा धेरै केन्याका नागरिक छन् । केन्याका ३२ जनाको ज्यान गएको छ । यस्तै क्यानडाका १८, इथियोपियाका ९ तथा अमेरिका, चीन र इटालीका ८–८ जनाको ज्यान गएको छ । यस्तै दुर्घटनामा फ्रान्स र बेलायतका सात–सात, इजिप्टका ६, जर्मनीका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जनाको ज्यान गएको छ ।


यसैगरी, अस्ट्रिया, रुस र स्वीडेनका तीन–तीन तथा इजरायल, मोरक्को, पोल्याण्ड र स्पेनका दुई–दई जनाको ज्यान गएको हो ।
नेपाल, बेल्जियम, डिजिबोउटी, इन्डोनेसिया, मोजाम्बिक, नाइजेरिया, नर्वे, रुवाण्डा, साउदी अरेयिबा, सर्बिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको ज्यान गएको छ । यस्तै संयुक्त राष्ट्रसंघको पासपोर्ट लिएका एकजनाको पनि निधन भएको छ । ०००००००

Share.

Leave A Reply