कान्तिपुरे ‘म्याच फिक्सिङ’को यथार्थ

0

गणेश पोखरेल ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयारी तीब्र भइरहेको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भई चुनावपछि पार्टी एकता हुने निर्णयले वामपन्थी नेता कार्यकर्तामा उत्साह छ । झापामा ३ वटा स्थानीय तहमा प्रमुख पद जितेको राप्रपा समेत एमाले माओवादी गठबन्धनमा रहेकाले झापामा कांग्रेस निरिह जस्तै बनेको छ । यो अवस्थामा पछिल्ला केही भ्रम र यथार्थ बारे यहाँ चर्चा गर्नु सान्दर्भिक हुनेछ ।


झापा १ मा स्थानीय तहको जनमत हेर्दा नेकपा माओवादी केन्द्रका उम्मेद्वार राम कार्की १७,०४२ मतका साथ अगाडि हुनुहुन्छ । क्षेत्र नम्वर २ मा एमाले उम्मेद्वार पवित्रा निरौला खरेल १७,५३० मतले अगाडि हुनुहुन्छ । क्षेत्र नम्वर ३ मा राप्रपा उम्मेद्वार राजेन्द्र लिङदेन २५,३७० मतान्तरले अगाडि हुनुहुन्छ । क्षेत्र नम्वर ४ मा एमाले उम्मेद्वार एलपी सावाँ १४,८३८ मतले अगाडि हुँदा क्षेत्र नम्वर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली ३१,६६० मतले अगाडि हुनुहुन्छ । प्रदेशसभातर्फ पनि सबै क्षेत्र आठ हजार भन्दा बढी मतान्तरले एमाले, माओवादी र राप्रपा गठबन्धनको पक्षमा छ । यो तथ्यले कांग्रेसका नेता कार्यकर्ता तिल्मिलाएको अवस्था छ । यसको पछिल्लो प्रमाण कान्तिपुर नाम गरेको पत्रिकाको खबर बनेको छ । ऐन मौकामा कथित ठुला मिडियाले कांग्रेसको पक्षधरता लिने गरेका छन् । त्यसको एक मात्र कारण भनेको ठूला मिडियाको लगानी कांग्रेसका नेता, कार्यकर्ता र समर्थकको रहेको छ । उनीहरुले त्यसमा काम गर्ने पत्रकार र कर्मचारीलाई प्यादा बनाउने गरेका छन् । ठूला मिडियाका श्रमजिवी ‘मेसिन’ मात्र हुन् । स्वीच अन गर्दा चल्नु पर्ने, अफ गरे बन्द हुने ।
स्थानीय तहको निर्वाचन चल्दै थियो, कान्तिपुरले खबर छाप्यो, झापामा एउटा गाउँपालिकामा मात्र प्रमुख पदमा माधव नेपाल गुटका उम्मेद्वार छन् । अरु सबै अध्यक्ष केपी शर्मा ओली गुटका मान्छे हुन् । अहिले ‘म्याच फिक्सिङ’ जसरी नै पहिलो पेजमा पहिलो खबरका रुपमा छापिएको थियो । एमाले भित्रको गुटकै कुरा गर्दा १५ वटा स्थानीय तहमा प्रमुख पदमा ८ र ७ जना उम्मेद्वार थिए । मैले एक जना कान्तिपुरका मजदुरलाई सोधेँ, किन यति कुरा पनि थाहा नभएर खबर लेखेको ? सोधेको भए म भन्दिन्थे नि । मैले उनको मन बुझ्न खोजेँ । उनले उत्तर दिए, यो खबर त झापाका लागि होइन, झापामा ओलीले हाम्रा गुटका कार्यकर्ता पेल्ने भनेर अरु जिल्लाका कार्यकर्तालाई भ्रममा पारेर भड्काउन सकिन्छ कि भनेर पो लेखेको त ।
अहिले त्यस्तै खबर आयो कान्तिपुर नामको कांग्रेसको पर्चामा झापामा ‘म्याच फिक्सिङ’ । यो विषयमा आमसभाबाट नै एमाले अध्यक्ष ओलीले प्रष्ट पारिसक्नु भएको छ । मैले धेरै लेख्नै पर्दैन । तर, एउटा केटाकेटीले नै पनि बुझ्ने कुरा के हो भने झापा ३ मा एमाले र माओवादीले उम्मेद्वारी दिँदा कृष्णप्रसाद सिटौलालाई जित्न सजिलो हुन्थ्यो कि ? राजेन्द्र लिङदेनलाई समर्थन गर्दा सजिलो हुन्छ ? मलाई कान्तिपुरले यस्तै गर्छ भन्ने पूर्व अनुमान थियो, मैले राजेन्द्र लिङदेनका प्रेस संयोजक रञ्जित प्रसाईंलाई कान्तिपुरका मान्छेलाई नभेट्दा हुन्छ भन्ने सल्लाह दिएको थिएँ । अगाडि हुन्छ भनेकाले के रोक्नु होस् भटुन भनेर रञ्जितजी र म बीच कुरा भएको हो । झापा ३ का उम्मेद्वार राजेन्द्र लिङदेनलाई प्रश्न गर्दा उनीहरु समाचारको शीर्षक तयार गरेर पुष्टि हुन्छ कि भनेर खोज्दै हिँडेका हुन भन्ने प्रष्ट थियो । लिङदेनसँगै रहनु भएका झापा ३ को प्रदेशसभा १ नम्वर क्षेत्रका एमाले संयोजक माधव विद्रोहीसँगै हुनुहुन्थ्यो, विद्रोहीले ती पत्रकार मनुवालाई प्रष्ट भन्नु भएको थियो, केपी शर्मा ओलीले भन्ने त हामी कार्यकर्तालाई हो नि । हाम्रो पार्टीले भन्ने र गर्ने कुरा एउटै हुन्छ । त्यस्तो कुरा भनेको विक्षिप्त मानसिकता भएपछि चलाइएको हल्ला हो भन्ने । तर, ती मनुवाले आफ्नो प्रायोजित पर्चामा लेखेनन् ।
खबरमा झापा १ को पनि प्रसंग छ । विद्वान, बुद्धिजिवी उम्मेद्वार भनेर कांग्रेसले १ र ३ नम्वर क्षेत्रका उम्मेद्वारलाई भन्ने गरेको छ । अरु क्षेत्र त कुनै पनि कांग्रेस नेता कार्यकर्ताका लागि प्राथमिकताको विषय बनेको छैन । यसै सन्दर्भमा सबैले बुझ्नु पर्ने कुरा के हो भने भ्रमकै खेती गर्ने भएपछि त्यो कुन समयमा गर्ने भन्ने पनि थाहा नपाउने मान्छे पनि कसरी विद्वान हुन्छ ? मंसिर १८ गतेतिरको पत्रिकामा खबर छपाएको भए एमाले अध्यक्ष केपी शर्मा ओली आफैं पुगेर खण्डन गर्ने समय हुने थिएन । कार्यकर्ताले मात्र भनेको कुरामा कतै जनतालाई भ्रम पनि हुन्थ्यो कि । तर, उनीहरुले भ्रमको खेती गरेकै दिन एमाले अध्यक्ष ओलीले पूर्व निधारित आमसभामा कर्तुत पर्दाफास गर्नु भएको छ । हिजो कतै भ्रम थियो भने आज हटेको छ । आफ्ना लागि यति टाइमिङ मिलाउन नसक्नेहरुको विद्वता कति होला ? अरु विषय के भन्नु ।
कान्तिपुरको ‘म्याच फिक्सिङ’ नाामको खबर झापाकै कांग्रेस उम्मेद्वारले प्रायोजन गर्न लगाएका रहेछन् । उनले आफ्नो क्षेत्रमा चन्द्रगढी मिसाइदिएको झोंकमा लेखाएको खबरले उनलाई पनि नछोड्ने भएछ । त्यो खबरबाट पीडित उम्मेद्वारका समर्थकले उनको क्षेत्रमा पनि नछोड्ने बताइरहेका छन् । ‘लोटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ’ भनेझैं भएको छ अहिले ।
स्थानीय तहमा प्राप्त जनमत अहिलेका लागि तथ्याङ्क होइन भन्छन् विचराहरु । स्थानीय तहको निर्वाचनमा मत हाल्ने मान्छे कता गए । हिजो एमाले, माओवादी र राप्रपालाई मत हाल्ने नागरिकले अहिलेको अवस्थामा अरुलाई मत दिने कल्पना दिवा सपना मात्र हो । हिजो कसले जित्छ भन्ने थाहा नहुँदा त ती पार्टीलाई मतदान गरेका नागरिकले आज आफ्नो आस्था र विश्वास रहेको पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्दैनन् र ? आफुले मत दिएको मान्छे पक्का विजयी बन्छ भन्ने निश्चित छ । अनि झापाका स्थानीय तहमा ७२३ जना जनप्रतिनिधि हुनुहुन्छ । २० वर्षदेखि स्थानीय तहको चुनाव नभएको, स्थानीय तहको सिमाना व्यापक परिवर्तन भएको समयमा के होला अनुमान गर्न कठिन थियो । एमाले र राप्रपाले कतैकतै गठबन्धन गरे पनि माओवादी र कांग्रेसले अधिकांश ठाउँमा गठबन्धन गरेका थिए । त्यो बेला झापामा ७२३ जना जनप्रतिनिधिमा एमालेका जनप्रतिनिधि ४९१ जना हुनुहुन्छ । राप्रपाका ३८ जना र माओवादी केन्द्रका ३५ जना विजयी बन्नु भएको छ । कांग्रेसका जनप्रतिनिधिको संख्या १६० जना छ । यो संख्या प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जनतालाई सहजीकरण गर्ने समुह हो । हिजो उम्मेद्वार हुँदा गरेका कुरा र आज ५ वर्षका लागि जनप्रतिनिधि भएपछि गरेका कुरा के ले जनतालाई प्रभाव पार्ला ? यो बताइरहनु पर्दैन । झापाको स्थानीय तहमा एमाले, माओवादी र राप्रपा गठबन्धनको पक्षमा ५६३ जना पार्टी कार्यकर्ता जनप्रतिनिधि बन्नु भएको छ । प्रतिशतमा कुरा गर्दा यो ७७ दशमलव ८७ हुन आउँछ । एमाले एक्लै ६७ दशमलव ९१ प्रतिशतको अवस्थामा छ । यस्तो अवस्थामा प्रतिनिधिसभा सांसदका लागि ५ र प्रदेशसभा सांसदका लागि १० जना जनप्रतिनिधिलाई जिताउन कुनै ठूलो कुरा होइन ।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधि मात्र होइन, हिजोका प्रतिष्पर्धीहरुले पनि बुझ्नु पर्ने कुरा भनेको यदि आफुले प्राप्त गरेको भन्दा बढी मत आज पार्टीको निर्णयको पक्षमा मतदान गराउन नसक्ने हो भने आफ्नो राजनीतिक भविश्य के होला सोचे हुन्छ । यो समय एमाले र माओवादीका कार्यकर्ताको आफु स्थापित हुने समय पनि हो । आज घात गरेर भोलि हिजोको जस्तै बच्छु भन्ने कसैले सोचेको छ भने त्यो गम्भीर भुल हुनेछ । हिजो कार्यकर्ता गुमाउन पार्टी नेतृत्वमा इच्छा थिएन होला, आज कार्यकर्ताको संख्या सिधै डवल भएको छ । यस्तो अवस्थामा काम गरेर देखाए मात्र भविश्य सुरक्षित होला । यदि कतै चुके राजनीतिक जीवन सकियो भनेर बुझे हुन्छ । जित्नका लागि होइन, कसले हिजोको भन्दा बढी मतान्तरको रिजल्ट निकाल्यो भन्नेमा एमाले र माओवादी कार्यकर्ताबीच प्रतिष्पर्धा हुनेछ । सबैलाई सफलताको शुभकामना ।

Share.

Leave A Reply