चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा झापाका १० वटा सामुदायिक वनमा आगलागी

0

विर्तामोड, ३ बैशाख ।

झापाका सामुदायिक वन आगलागीको उच्च जोखिममा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा १० वटा सामुदायिक वनमा आगलागी भएको छ । चालू आर्थिक वर्षको मङ्सिरदेखि चैत मसान्तसम्ममा १० वटा सामुदायिक वनमा आगलागी हुँदा ५८ हेक्टर वनक्षेत्र प्रभावित बनेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । आगलागीबाट प्रभावित हुने सामुदायिक वनमा मेचीनगर, भद्रपुर नगरपालिका, हल्दिबारी, कचनाकवल र बाह्रदशी गाउँपालिकाका रहेका छन् । जिल्लामा जम्मा ५९ वटा सामुदायिक वन रहेका छन् । वनमा आगो लगाउँदा गाईवस्तुलाई खुवाउने घाँस पलाउने, जङ्गली जीवजन्तुबाट बच्न सकिने लगायतका कारण वन नजिकै रहेका उपभोक्ताले नै सामुदायिक वनमा आगो लगाउने गरेको हुनसक्ने प्रमुख घिमिरेले बताउनु भयो । उहाँले हालसम्म आगो लगाउने व्यक्ति वा समूहको पहिचान हुन नसकेको बताउनुभयो । डढेलो नियन्त्रणका लागि सामुदायिक वन महासंघ र डिभिजन वन कार्यालयले जिल्लाभर सचेतनामूलक कार्यक्रम गर्दै आएको बताइएको छ । ०००००

Share.

Leave A Reply