जनप्रतिनिधिलाई इमान बचाएर काम गर्न प्रधानमन्त्री ओलीको आग्रह, जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमुलक संस्था माथिको विस्वास पनि डगमगाउने जिकिर

0

विर्तामोड, २९ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गर्नुभएको छ । नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमुलक संस्था माथिको विस्वास पनि डगमगाउने बताउनुभएको छ । “जनप्रतिनिधिमुलक संस्थाप्रति जनताको विस्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ । ”
प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभूल्न पनि जनप्रतिनिधिलाई सम्झाउनु भएको छ । “अवसरहरु सक्षम र गरिबलाई दिनुहोस आफ्ना छोराछोरीलाई होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन, मतदातालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।”
प्रधानमन्त्री ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको स्पष्ट पार्नुभएको छ । “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिड्नेहरुले अहिले यसको बिरोध गरेका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले लुटपाट गर्ने समुहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । “लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस्” प्रधानमन्त्री ओलीले भन्नुभयो “लुटेरा प्रवृतिले देशको विकास हँुदैन । यस्ता प्रवृतिलाई नेपाली समाजले स्वीकार्दैन ।”
प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका बिषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने बताउनुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिकाका असल अभ्यास नामको पुस्तक बिमोचन गर्नुभएको छ । ००००००००

Share.

Leave A Reply