झापाको विर्तामोडमा प्रहरी हिरासतभित्रै नाबालकको शंकास्पद मृत्यु

0

विर्तामोड, ५ बैशाख ।

इलाका प्रहरी कार्यालय विर्तामोडको हिरासतमा राखिएका बालकको शंकास्पद मृत्युलाई उनका परिवारले हत्या भएको दाबी गरेको छ । मोबाइल चोरीको आरोपमा गत चैत २९ गते पक्राउ परेका मेचीनगर ६ काँकडभिट्टाका १५ वर्षीय किरण कार्कीढोली (दर्जी) लाई म्याद नथपी हिरासतमा राखिएको हो । गैरकानुनी ढंगबाट थुनामा राखेर मृत्यु हुनु गम्भीर कुरा भएको राष्ट्रिय मानवअधिकार आयोग विराटनगरका प्रमुख मोहनदेव जोशीले बताउनु भयो । गत वैशाख १ गते राति हिरासतमै उनको मृत्यु भएको थियो । प्रहरीले किरण हिरासतको वाथरुममा झुन्डिएको जनाएको छ । तर, उनको मृत्यु झुन्डिएर नभएर प्रहरीको चरम यातनाबाट भएको किरणका बुवा रमेश कार्की डोलीले दाबी गर्नु भएको छ । उहाँका अनुसार प्रहरीले किरण पक्राउ परेको विषयमा कुनै जानकारी गराएको थिएन । मृत्युपछि वैशाख २ गते बल्ल जानकारी गराइएको थियो । परिवारलाई थाहै नदिई मेची अञ्चल अस्पताल भद्रपुरमा किरणको पोस्टमार्टम गरिएको थियो । ’घटना ढाकछोप गर्न विर्तामोडका डीएसपी सुवास खड्काले कार्यालयका प्रहरीलाई निर्देशन दिएको स्रोतले जनाएको छ । स्रोतले प्रहरीले घटनास्थलको सम्पूर्ण प्रमाणहरु नष्ट गरेको छ । सीसीटीभी पनि हटाएको छ । मानव अधिकार सञ्जाल तथा शान्ति कार्यक्रम (प्याग) झापाका अध्यक्ष तथा अधिवक्ता अर्जुन बस्नेतले गैरकानुनी हिरासतमा बालकको मृत्यु हुनु गम्भीर अपराध भएको बताउनु भयो । उहाँका अनुसार बालबालिकालाई हिरासतमा राख्दा जिल्ला अदालतका न्यायाधीशलाई मौखिक जानकारीसम्म गराउनु पर्ने व्यवस्था छ । तर, प्रहरीले उल्टै म्याद नथपी बालकलाई हिरासतमा राखेको देखिन्छ । ०००००

Share.

Leave A Reply