झापा विद्रोहको सम्झनामा, सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाई ?…

0

मनोज ताम्ली लिम्बू ।

सुखानीको रगतले भन्छ हामीलाई,
सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाई ?…
पंचायतीकाल को मध्यअवस्था अर्थात् २०२८÷२९ नेपाली कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण कालखण्ड रह्यो । नेपालमा २०१७ सालमा सुरुभएकोतानाशाही पंचायती व्यवस्था ढाल्न झापा विद्रोहले ऊर्जा प्रदान गरेको थियो । भारतको पश्चिम बङ्गालमा भारतीय कम्युनिस्ट पार्टी चारु मजुमदारको नेतृत्वमा सशस्त्र विद्रोह गरिरहेको थियो । उक्त आन्दोलन नक्सलवाडी आन्दोलनको नामले चिनिन्छ । २०२८ सालमा पूर्व कोशी प्रान्तीय कमिटी संवद्ध झापा जिल्ला कमिटीले विद्रोह गरी वर्ग शत्रु खतम अभियान अन्तरगत सशस्त्र संघर्ष शुरु गर्याे । झापाली क्रान्तिकारीहरुले “सामन्तलाई नगिडे, सैनिकसँग नभिडे, आउँदैन है जनवाद छमछम नाचेर” भन्दै कृषकहरुको साथमा क्रान्तिमा होमिए । जान्ने बुझ्ने टाठाबाठा जालीहरु र जमिन्दारहरुले सयौं विगाह जमिन कव्जा गर्ने र कृषकसँग आफ्नो जमिन नहुने । किसानले मेहनत परिश्रम गरेर उत्पादन गरेको अन्नवालीले जमिन्दारको भकारी भरिने तर श्रम गर्ने किसान भोकै हुनुपर्ने तत्कालिन अवस्थामा झापाली क्रान्तिकारीहरुले आफ्नो वर्ग शत्रुको रुपमा गाउँको ठुलाठालु, जमिन्दार, शोषक र सामन्तलाई देखे । समाजको शत्रुलाई खतम नगरी समतामुलक समाजको निर्माण नहुने भन्दै“एक एरिया, एक युनिट, एक एक्सन” नीति तयार गरि घरेलु हतियार सहित लडाकु दस्ता तयार गरे ।


झापा विद्रोहमा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सीपी मैनाली, जीवन मगर, नारद वाग्ले, प्रदीप नेपाल, सीता खड्का, मोहन उप्रेती, भीष्म धिमाल, नरेश खरेल, धर्म घिमिरे, ददिराम उप्रेती, दुर्गा अधिकारी (सानो), दुर्गा अधिकारी (ठूलो), रुद्र सुवेदी, टंक चौधरी, गुलाम राजवंशी, खड्क थापा, भीमकुँवर, श्रीराम गिरी, दिलबहादुर खड्का, रीता खड्का, नारायण उप्रेती, मनकुमार गौतम, मनकुमार तामाङ, खड्ग दाहाल, वीरबहादुर श्रेष्ठ, डम्बरबहादुर बानियाँ, रामचन्द्र उप्रेती, वीरबहादुर मगर, मातृका पाठक, बलबहादुर खड्का, कृष्णबहादुर खड्का, बलबहादुर सुवेदी, धनेन्द्र बस्नेत, गौरा प्रसाईं, अमर अधिकारी लगायतका क्रान्तिकारी संलग्न रहेका थिए । नेपालमा छोटो समयसम्म मात्र भएको उक्तविद्रोहले सारा शोषक सामन्त तथा तत्कालिन पंचायती राज्य व्यवस्था त्रसित बन्न पुगेको थियो । सामन्त जमिन्दारहरुबाट दमनमा परेका धेरै सोझा सामान्य नागरिकहरु जसलाई राजनीतिक चेतना पनि थिएन । उनीहरु पनि सामन्तहरुको अन्त्य नगरेसम्म गरिव किसानहरुको मुक्ति सम्भव नभएको भन्दै झापा विद्रोहमा सहभागी भएका थिए । झापा विद्रोहमा राज्य पक्षबाट पनि चरम दमन भएको थियो । धेरै निर्दोेष सर्वसाधरणलाई सर्वस्व सहित जेल नेल भएको थियो । जमिन्दारले आफ्नो व्यक्तिगत स्वार्थको लागि पनि धेरै गरिव किसानहरुलाई फसाएका थिए ।


झापा विद्रोहमा पक्राउ परेका मध्ये छविलाल राजवंशी, हरी कृष्ण चौधरी, भोट्ला राजवंशी र हेम खड्काको जेलमा नै मृत्यु भयो । त्यस्तै पक्राउ परेका ५ जना रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलार्ई जेल सार्ने वाहानमा २०२९ साल फागुन २१ गते झापाबाट इलाम लैजाने क्रममा सुखानीमा कायरता पूर्वक हत्या गरियो । हत्या गरिदाँ कृष्ण कुईकेल मात्र १८ वर्षका थिए । झापा विद्रोहमा झापाली मात्र होइन, नेपाली मात्र होइन, भारतीय क्रान्तिकारीहरुले पनि साथ दिएका थिए । भारतीय कम्युनिष्ट पार्टीका भोगिन राजवंशी र राजन राजवंशी त जेल पनि परेका थिए । राजन राजवंशी २०३२ सालमा सिपी मैनाली, नरेश खरेल, हर्क खड्का लगायत १५ जना सहित नक्खु जेलबाट ३१ फिट लामो सुरुङ्ग खनेर भाग्न सफल भए र भारत फर्किए । भोगिन राजवंशी १७ वर्ष जेल बसेर २०४६ साल पुस २९ गते भारत फर्किए ।
आफ्नो व्यक्तिगत स्वार्थ त्यागी चट्टाने पहाड जस्तो निरंकुश राज्य व्यवस्था र त्यसको जग सामन्त जमिन्दारहरुसँग लड्ने कुरा कम साहसपूर्ण थिएन । समतामुलक समाज निर्माणको खातिर ज्यानको वलिदान दिन तयार भएका धेरै योद्धाहरु आफ्नो विचारबाट विचलित नभई निरंकुश राज्य व्यवस्थासँग झुक्नु भन्दा हाँसीहाँसी मृत्यु रोजेका थिए । योद्धाहरुको आफ्नो व्यक्ति खुसी, सुख सुविधाभन्दा त्यस्तो व्यवस्थाको कल्पना गरेकी जहाँ सारा नेपाली खुसी हुनेछन् , सुखी हुनेछन, सुविधा सम्पन्न र अधिकार सम्पन्न हुनेछन् , विभेद रहित समाज हुनेछ । झापा विद्रोहकोबारेमा कांग्रेस नेता विपि कोइरालाले समेत भन्नूभयो कि – उनीहरु आफ्नो सिद्धान्तप्रति पूर्ण निष्ठा राख्दै आत्मबलिदान गरेका छन् । त्यसको राजनीतिक रुपमा मुल्यांकन गरिनु पर्दछ । हाम्रा तरुणहरुले झापा नक्सलाइट भनिने वामपन्थी विद्रोही युवाहरुले जसरी आफ्नो सिद्धान्तप्रति निष्ठावान हुँदै आत्म बलिदान गरि निस्वार्थ भावना देखाएका छन् । त्यसको अनुकरण गर्नु पर्दछ । क्रान्ति गर्न निश्चय नै त्याग र बलिदानी चाहिन्छ ।
त्यस्तो बलिदानी पूर्ण ईतिहास वोकेको झापा विद्रोहको जगमा उभिएको नेकपा एमाले र १२ वर्ष सशस्त्र संघर्षबाट आएको माओवादीको एकता भई नेपालमा सवै भन्दा ठुलो शक्तिशाली पार्टी नेकपा बनेको छ । अहिले २÷३ बहुमत सहित झापा विद्रोहबाट आएका नेता केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । झापा विद्रोहमा सहभागी भएका केहीले राजनीतिक अवसर प्राप्त गरे । तर, धेरैले सामान्य जीवन बिताइरहेका छन् । कुनै व्यक्तिगत स्वार्थ नराखी लडेका योद्धाहरु आज आफ्नो योगदानले राज्य व्यवस्था बदलिएकोमा खुसी छन् । हिजो ‘लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ ।’ भन्दै क्रान्तिमा होमिएकाहरुको अहिले अवस्था कस्तो छ भनेर राज्यले खोज्न जरुरी छ । सम्पूर्ण नेपालीहरुको घर, जमिन, रोजगार र समान अधिकारको लागि लडेका योद्धाहरु आज आफै सुकुम्बासी भई अरुको घरमा काम सघाएर पेट पाल्दैछन् । कोही वर्खाको बाढी भेलको अनि हिउँदको चिसोमा सानो झुपडीमा चरम अभावमा गुजारा गर्दैछन् । झापा विद्रोहमा १४ वर्ष जेल बसेका डिगेन राजवंशी केही समय अगाडी तत्कालिन एमाले सरकारमा भएको बेलामा एमालेको केन्द्रीय कार्यलयमा झुण्डिएर आत्महत्या गरेको तितो यथार्थ छ । प्रधानमन्त्री ज्यू २०२७ सालमा २१ वर्षको उमेरमा झापा विद्रोह गर्दा यो पवित्र झापाली माटोमा आफ्नो सहयोद्धाहरुसँग देखेको सपना त कतै भुल्नु भएको छैन् । आजपनि सुकुम्बासी कम्युनिस्ट सरकारले जग्गा बाढ्छ भन्ने आशामा बाँचिरहेछन् । आज पनि हजारौं युवाहरु आफ्नै देशमा रोजगार खोजिरहेछन् । देशमा नै केही गरि देश निर्माणमा योगदान दिन चाहन्छन् । अब डिगेन राजवंशी फर्कदैनन् तर नेपाली जनताका छोराछोरीले आफ्नै देशमा रोजगार पाए उनलाई न्याय मिल्नेछ । सरकारले माछा होइन अब बल्छी दिनुपर्याे । तवमात्र सुखानीको रगतले हामीलाई सहीबाटो हिडेको ठान्नेछ । सहिदको सपना तव पूरा हुनेछ ।
(लेखकः अनेरनस्ववियु झापाका क्याम्पस जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ ।)

Share.

Leave A Reply