ताप्लेजुङवासीलाई खुल्ला चिठी

0

– संग्राम किराती

प्रिय ताप्लेजुङबासी प्रिजनहरु !
म पनि तपाईहरु जस्तै त्यही कञ्चनजंघाको फेदमा रहेको प्यारो ताप्लेजुङमा जन्मिएको हुँ । मेरो घर सिनाममा छ । मेरा साथीसंगीहरु त्यतै छन् । मेरो पहाडी खोलाहरु त्यतै बगिरहेका छन् । कञ्चनजंघाको चिसो हावाले मलाई पो सप्को मारेको छैन तर मेरो घरलाई त मारि नै रहेका छन् । मैले खेलाएका, खेलेका ढुङामाटो त्यतै छन् । सम्झिरहन्छु, मेवाखोला, मैवाखोला, याङ्माखोला, फावाखोला, घुन्साखोला । अनि सम्झिरहन्छु, कालीखोला, हेल्लोक, सिस्नेखोला, सोबुवाखोला, फुंगुवाखोला । हिमालबाट बगेर अाएकाे कञ्चनजङ्घा हिमनदी, कुम्भकर्ण हिमनदी, तमोर हिमनदी र यलुङ ।

त्यही कञ्चनजंघाको चिसो हावा खादै जीन्दगीका सबै हिउँदो, बर्खा कटाउने रहर नभएको त कहाँ हो र ? तर, बाध्यताले अचेटिएर, मिठो सपनाले घचेटिएर भबिष्यको खोजी गर्दे यसबेला देश बाहिर छु । ब्रिटिस सेनामा कार्यरत छु । अरुको भाषामा अहिले ब्रिटिस गोर्खा सैनिक हुँ । ज्यान यता भएपनि मन भने त्यतै छ । भुगोलको हिसाबले धेरै टाढा छु । तर, अहिले प्रबिधिको कारण उतिधेरै टाढा हुनु परेको छैन । फुर्सद भएपछि सामाजिक सञ्जालहरुबाट ताप्लेजुङसँग जोडिन पुग्छु ।

शनिबार (५ कार्तिक २०७४) साझ । नियमित ड्युटीपछि फेसबुकमा आँखा कुदाए । मलाई ताप्लेजुङको दृश्यले बढो रोमाञ्चित बनायो । मैले खुसीले मन थाम्न सकिन । मेरो मन उद्येलित भयो । हो, त्यही रोमाञ्चित र उद्येलित मनले तपाईहरुको नाममा यो पत्र लेख्ने आँट गरेको हुँ । मैले खुसी साट्न खोजेको हुँ, यसैगरी बुझिदिनु भए हुन्छ । शनिबार आगमी १० मंसिर २०७४ मा हुने निर्वाचनको लागि उम्मेदवारी दर्ताको कार्यक्रम रहेछ । ताप्लेजुङबाट एमालेका सचिव युवा नेता योगेश भट्टराईले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गरेको दृश्यले खुसी भएको हुँ । उद्येलित र रोमाञ्चित भएको हुँ । मैले यो लेख्दै गर्दा तपाईहरुलाई लाग्न सक्छ, ‘यो एमालेको कार्यकर्ता रहेछ ।’ तर, म आज कुनै पार्टीमा आबद्ध छैन । हो, कुनै बेला नेपाली कांग्रेससँग नजिक थिए । म अहिले नजिक छु त मेरो कञ्चनजंघा हिमाल, पाथीभरा माता, तमोर र काबेलीसँग । हो, त्यही मनले यो पत्र लेखिरहेको छु ।

म यसबेला विदेशी माटोमा उभिएको छुु, मेरो हातमा विदेशीको बन्दुुक छ, तर मेरो मन उतै नेपालमा छ, जहाँ मैले मेरा २१ वर्ष बिताएको छुु । फेरि पनि जानुुपर्नेछ त्यहीँ । मेरो बाल्यकाल जहाँ बित्यो, त्यहीँ बित्नेछ बुढेसकाल पनि । मेरो दिमाग, मेरो हृदय सबै–सबै उतै छन् । सम्झिरहेको छुु, उही कञ्चनजंघा हिमाल र काबेलीको चिसो पानी । सम्झिरहेको छुु, उही पाथिभारा, उही गुफा पोखरी । मेरो ताप्लेजुङ मेरा आकांक्षा हुन् । त्यही भएर ताप्लेजुङको माया छ ।

प्रिजनहरु !
तालिम र अन्य यात्राको क्रममा म संसारको धेरै देशहरु घुमेको छु । त्यहाँको बिकास हेर्दा म आफैलाई सोध्छु, ‘कहिले मेरो देश अनि मेरो ताप्लेजुङ यस्तो होला ?’ तर मेरो मनमा सधैं नकरात्मक जवाफ आउथ्यो । त्यहाँको बिकास र समृद्धिका इतिहास हेर्दा यस्तो लाग्थ्यो, ‘समृद्धि र बिकासको लागि देश र जिल्लाले असल नेतृत्व र नेता आबश्यक छ ।’ ताप्लेजुङका पुराना नेताहरुप्रति मेरो असाध्यै सम्मान छ । जे गर्नुभयो, सकेसम्म गर्नुभयो । तर, एउटा असल अभिभावक र कुशल संरक्षकको अभाव पनि जरुर थियो ।

ताप्लेजुङको साँघुमै जन्मिएका योगेश भट्टराई नेपालको राष्ट्रिय राजनीतिको मियो बनेको खबरले सधैं खुसी त बनाएकै थियो । तर, काठमाडौंको नै प्रतिनिधि बन्ने प्रयास गरेको खबरले सधैं मन अमिलो बन्थ्यो । यस्तो लागिरहन्थ्यो, ‘योगेश ताप्लेजुङको जनप्रतिनिधि भइदिए कति गजब होला !’ सायद यो मेरो मात्रै होइन सबै ताप्लेजुङका जनताहरुको चाहना थियो । हो, आज त्यही चाहना हुने प्रक्रिया सुरु भएको छ । हो, यही कारण म रोमाञ्चित बनेको हुँ । खुसी भएको हुँ । मैले यस्तो एउटा सुखद अबसर पाउदैछु की देशले आशा गरेको हाम्रो जिल्लाको जनप्रतिनिधि हुदैछ । ठुला नेता भएका जिल्लाका साथीहरुले कहिलेकाही पल्टनमा सगौरव भन्ने गरेका छन्,‘म फल्ना नेताको जिल्लाको मान्छे हुँ ।’ अब म पनि भन्नेछु,‘योगेशको मतदाता पो हुँ ।’

मलाई लाग्छ, आजको राष्ट्रिय राजनीतिमा योगेश प्रभाव निकै प्रभावी छ । आज मात्रै होइन हिजोदेखी योगेश जहाँ थिए आफू र त्यो संगठनलाई सधैं केन्द्रमा राख्न भ्याए । हामी विद्यार्थी छदा उनको नाम एउटा जादुमयी नाम जस्तै थियो । अभियान र आन्दोलनको नाम थियो । सिमामा रहेको राष्ट्रियताको आन्दोलनलाई केन्द्रमा भागमा ल्याउने नेता योगेश हुन् । २०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व गरेका थिए । पूर्व पाँचथरको च्याङ्थापुदेखि सुस्ता, महेशपुर, टनकपुर हँुदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाइ योगेशकै नेतृत्वमा भयो । २०४६ सालको जनआन्दोलनमा विद्यार्थी नेताको रुपमा खेलेको भुमिका होस् या २०६२/०६३ को जनआन्दोलनमा पार्टी नेताको रुपमा खेलेको भुमिका । सधैं महत्वपूर्ण रह्यो । यो एउटा लेखमा मैले योगेशको बारेमा लेख्न सक्दिन । बस्, मैले यहाँनिर सम्झाउन खोजेको के हो भने ताप्लेजुङमा जन्मेको योगेशले बिभिन्न कालखण्डको ऐतिहासिक अभियान र आन्दोलनको नेतृत्व गरेको छ । त्यो हाम्रो लागि गौरवको बिषय हो । र, हुनुपर्छ ।

ताप्लेजुङबासी प्रिजनहरु !
आजको दुनियाँ हेर्नुहोस्, आज हाम्रा पुस्ताका मान्छेहरुले सामसुङ, एप्पल बनाइरहेका छन् । तर, हामी उही जीन्दवाद र मुर्दाबादमा अल्झिएका छौं । हाम्रो पूर्खाहरुको पुस्ता त्यसमै बित्यो । बल्ल हाम्रो राजनीति दलहरुले राजनीतिक आन्दोलन सकियो । अब आर्थिक क्रान्ति अर्थात् समृद्धि भनिरहेका छन् । हो, हाम्रो जस्तो वर्गको पक्षमा आर्थिक क्रान्ति तिनैबाट सम्भव हुन्छ, जसले राजनीति क्रान्तिको अगुवाई गरेको छ । तर, कुनै पनि जिल्ला, देश अथवा क्षेत्र निर्माण लागि एउटा असल अभिभावक आवश्यक जहिल्यै पर्छ । देश या विदेश जही पनि आफ्ना माटोले जन्माएको नेताप्रति गर्व गर्ने अवस्था निर्माण हुन्छ ।

विश्वको इतिहास हेर्नुहोस्, सिंगापुरको इतिहास हेरौं, जलजले पानी जमिरहेको टापुलाई देशलाई ली क्वान युले संसारको हीरा बनाए । मेलेसियाले दिदा पनि नलिएको सिंगापुर आज संसारको बगैचा बनेको छ । संसारको सबैभन्दा समृद्ध र सुन्दर देश चीनलाई हेरौं । राजनीतिक क्रान्तिपछि चीनको भविष्यमाथि संसारले प्रश्न गरिरहेको बेला देङ सियाओ पिङले चीनलाई विश्वको समृद्ध देश बनाए । डा. महाथिर मोहम्मद जसको नेतृत्वमा मलेसियामा विकास सम्भव भएको छ । हो, हाम्रो जिल्लालाई पनि त्यस्तो एउटा नेता आवश्यक थियो । छ । आज योगेश हाम्रो जिल्लाले पाउनु यस कारण पनि खुसीको बिषय हो । योगेशले हिडिरहेको पदचापलाई आज हजारौं युवाहरुले पछ्याएको छ । देशले आशा गरेको छ । त्यस्तो नेता हामीले पाउनु हाम्रो लागि कम गर्वको बिषय होइन । मलाई लाग्छ, इतिहासले हामीलाई एउटा ठुलो अबसर प्रदान गरेको छ । योगेशलाई जिताएर ताप्लेजुङ समृद्धिको सारथी बनाउन अब हामी जुट्नपर्छ ।

यो परदेशमा भएर पनि कहिलेकाही मन बिचलित हुन्थ्यो । मेरो देश, मेरो जिल्ला र मेरा जिल्लाबासीहरुको जीन्दगी त्यही दुःखमा जाला की ? भनेर । सम्पन्न देशमा बस्दा पनि देशको मायाले कहिलेकाही मन यसै दुख्दो रहेछ । जिल्लाबासीहरुले भोगिरहेका समस्याले चित्त दुख्दो रहेछ । मन फाट्दो रहेछ । आँशुु आउँदो रहेछ । मलाई लाग्छ, अब हाम्रो आँशु रोकिने बेला आएको छ । मैले यसो लेखिरहदा अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुलाई लाग्न सक्छ, यो एमाले कार्यकर्ता रहेछ । म फेरि पनि भन्छु, ‘म कसैको कार्यकर्ता होइन ।’ न अब मलाई नेता बन्नुछ, न कसैको झन्डा नै बोक्नुछ । तर, मलाई समृद्ध ताप्लेजुङ हेर्न मन छ । अहिलेका पुस्ताहरुमा मैले त्यो सम्भावना योगेशबाट मात्रै देख्छु । कांग्रेस होस् या अरु कुनै पार्टीका ताप्लेजुङे नेता भोली योगेशको उचाईमा कोही आए छ भने यसै गरी म उसको पनि समर्थन गर्नेछु । त्यसैले म भन्छु,‘अहिलेलाई पार्टी र विचार एकातिर थन्काएर ताप्लेजुङको लागि योगेशसँगै हिड्नपर्छ ।’

ताप्लेजुङबासी प्रिजनहरु !
तपाईहरुलाई थाहै छ, अहिले फेसबुक र अनलाइनहरुले गर्दा देशको कुरो थाहा पाउन सजिलै छ । सामाजिक सञ्जालहरू हेर्छु । पत्रिकाका अनलाइन संस्करणहरु हेर्छु । कांग्रेस र माओवादीका नेताहरुले समेत उहाँको प्रशंसा गरेको देख्छु । शिर्ष नेताहरुले योगेशको प्रशंसा गरेको हेर्छु । यो देख्दा मलाई त्यसै गर्व लागेर आउछ । हो, मलाई कञ्चनजंघाको काख ताप्लेजुङ जन्मिएकोमा जति गर्व लाग्छ, योगेश मेरो जिल्ला ताप्लेजुङ जन्मिएकोमा त्यतिकै गर्व लाग्छ । बगिरहेको तमोर, काबेलीहरुमा जति लामो र गहिरो सम्भावना देख्छु, योगेशको अनुहारमा म त्यतिकै सम्भावना देख्छु । हो, योगेशको उज्यालो अनुहारमा हाम्रो पुस्ताको सुन्दर भबिष्यको प्रतिबिम्ब देख्छु ।

म पाका पुस्ताकाहरुलाई भन्न चहान्छु, तपाईको सन्ततीको सुन्दर भबिष्यको निम्ती एक मत योगेशलाई दिनुहोस् । मेरो पुस्ताका सबैलाई भन्न चहान्छु, हाम्रो सुन्दर वर्तमान र उज्यालो भबिष्यको निम्ती तपाईको एक मत योगेशलाई दिनुहोस् । तपाईलाई यस्तो लाग्न सक्छ, ‘मेरो एक मतले के हुन्छ ?’ हो, परिवर्तन तपाईको एक मतले सम्भव छ, समृद्धि सम्भव छ । त्यही समृद्धिका लागि एक मत योगेशलाई दिनुहोस् । विश्वका महान हास्यव्यंग्यकार चार्ली च्याप्लिनले भनेका छन्, ‘मलाई लाग्छ सही समयमा गलत काम गर्नु जिवनका कैयौँ विडम्बना मध्ये एक हो ।’ ताप्लेजुङबासीको लागि यो एकदमै सही समय हो । चार्ली च्याप्लिन भन्छन्, ‘यदि तपाइँले सधै तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुनेछैन ।’ तल अर्थात् पार्टी, समुदाय अथवा अरु कुनै हेर्न छोडेर माथि हेरौं । हाम्रो अगाडी इन्द्रेणी छ । हाम्रो भबिष्यको सप्तरंग अर्थात् योगेश !

उही तपाईहरुको 
संग्राम किराती 
हाल ब्रुनाई

नयाँपेजबाट

६ कार्तिक २०७४

Share.

Leave A Reply