देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने प्रधानमन्त्री ओलीको दाबी

0

भक्तपुर, २४ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताउनुभएको छ । आज भक्तपुरमा आयोजना भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै उहाँले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “रोजगारीका लागि विदेशमा ४० लाख युवा भौतारिरहेका छन्, सरकार के हेरेर बसिरहेको छ भन्नेलाई सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमूना हो ।”

यो महाअभियानको भव्य शुरुआत भएको बताउँदै उहाँले यो कुनै गोष्ठी नभई कामबाटै शुरु भएको अभियान भएको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको उल्लेख गर्दै प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउने बताउनुभयो । काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै उहाँले सबैलाई देशमै रोजगारी दिने बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको चर्चा गर्दै देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

 

सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै उहाँले सरकारले शुरु गरेको महान् अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्वहरु सक्रिय रहेको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिएको छ ।” मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय रहेको भन्दै उहाँले हिंसा र आतङ्कतर्फ लागेको तत्वहरु सफल नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले २०४ वर्ष देशलाई अँध्यारोमा राख्ने राजतन्त्र फेरि चाहियो भन्ने मुर्खसमेतको केही नलाग्ने बताउनुभयो । । ०००००००

Share.

Leave A Reply