‘धनपति’ असारमा रिलिज

0

प्रतीक्षित मानिएको फिल्म ‘धनपति’ ले सुटिङ अवधिमा चालू सडकलाई जबरजस्ती बन्द गराएर दृश्य खिचेको रहस्य खुलेको छ । शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा ‘धनपति’ निर्देशक दीपेन्द्र के खनालले यस्तो खुलासा गरेका हुन् ।

‘फिल्ममा २४ सिन बन्दको खिच्नुपर्ने थियो । सुटिङ चल्दै गर्दा कुनै दलले त बन्द गर्ला नि भन्ने थियो । बन्द आहवान पनि भएको थियो, तर बन्दैचाहिँ भएन,’ दीपेन्द्रले भने, ‘आखिर हामी आफैंले बन्दै नभएको ठाउँलाई जबरजस्ती बन्द गराएर खिच्यौं । खासमा हामीले त्यस्तो गर्नु हुँदैनथ्यो । गलत कुरा हो । त्यसका लागि क्षमा माग्न चाहन्छौं । हामीसँग त्यति बेला अरू विकल्प पनि त थिएन ।’

त्यसो त ‘धनपति’ टिमले भीएफएक्स प्रविधिबाट बन्दको कृत्रिम दृश्य बनाएर फिल्ममा राख्नेसम्मको योजना पनि बनाएको रहेछ । ‘तर त्यसकै झन्डै ५६ लाख रुपैयाँ पर्ने हिसाब आयो । फेरि हामी दर्शकमा फिल्मको पात्र सहरमा हिँडेको लाइभ फिल गराउन चाहन्थ्यौं,’ दीपेन्द्रले भने ।

सोसियो–पोलिटिकल ड्रामा ‘धनपति’ को मुख्य पात्र राजनीतिमा आबद्ध भएपछिका केही दृश्य फिल्मको ट्रेलरमा पनि समावेश गरिएको छ, जसमा खुला सडकमा टयाक्सी जलाइएका, आन्दोलनकारी र प्रहरीबीचको भिडन्तका तनावपूर्ण दृश्य देखिन्छन् । दीपेन्द्रले उक्त दृश्य खिच्नका लागि बुद्धनगर, बल्खु, कालिमाटी, थापाथली र कीर्तिपुरका सडक प्रयोग गरिएको बताए । भने, ‘ती दृश्य खिच्न पाँच दिन लागेको थियो । हामी बिहानै २ बजेदेखि स्पटमा पुग्थ्यौं र सबै तयारी हालतमा राखेर सडक व्यस्त भएपछिको बढीमा १५ मिनेट रोकेर सुट गथ्र्यौं । त्यो समयमा कलाकार परिचालन गर्नेदेखि क्यामेरा हयान्डल गर्ने, पुलिस र आन्दोलनकारीको झडप सबै एकैपटक खिच्नुपथ्र्यो । एकदमै छोटो समयमा त्यतिका कुरा कसरी खिचियो होला भनेर अहिले सम्झँदा पनि अचम्म लाग्छ ।’

छायांकनसमेत आफैंले गरेका दीपेन्द्रले त्यस बेला प्रहरी प्रशासनको स्वीकृति र सहयोगमा मात्रै ती दृश्य खिच्न सम्भव भएको बताए । ‘बुद्धनगर सडकखण्डमा टयाक्सी जलाउँदा वातावरण एकदमै तनावपूर्ण भयो,’ उनले थपे, ‘क्यामेरा लुकाएर खिचिएको थियो । प्रहरीलाई पहिल्यै जस्तो आन्दोलनकारीलाई व्यवहार गरिन्छ त्यस्तै आफ्ना कलाकारलाई गर्न भनिएको थियो । टयाक्सी हारहार्ती बल्न थालेपछि आइमाई, केटाकेटी डरले चिच्याउँदै भागे ।

आन्दोलनकारी कलाकारलाई प्रहरीले भ्यानमा हुल्न थालेपछि त्यहाँका टोल सुधार समितिका मान्छेहरू आएर के भयो भन्दै कराउन थालेपछि स्थिति तनावपूर्ण हुने देखियो र म क्यामेरा समातेरै टाप कस्न बाध्य भएँ । फुटेज त जोगाउनुपर्‍यो ।’ तर पनि दीपेन्द्रले आफूहरूले एकदमै जिम्मेवारीपूर्वक काम गरेको जिकिर गरे । भने, ‘पानीको ठूलो टयांकर पहिल्यै तयारी हालतमा राखेका थियौं । पछि पनि जलेको अलिकति भाग पनि सडकमा छोडेनौं । पहिले जस्तो थियो त्यस्तै हुने गरी सबै सफा गरेर छोडिदियौं ।’

यसअघि ‘पशुपतिप्रसाद’ निर्माण गरेकै ब्यानर टुकी आर्टस् र दीपेन्द्र के खनाल प्रोडक्सनले संयुक्त रूपमा बनाएको ‘धनपति’ मा पनि ‘पशुपति प्रसाद’ कै खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् । सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेले अभिनयमा साथ दिएका छन् ।

निर्माता रोजिना सिटौलाले ‘धनपति’ लाई टिमको कोसिसका रूपमा अथ्र्याइन् । डेढ वर्षपछि पुन: दर्शकमाझ आउन लागेका खगेन्द्रले भने ‘पशुपति प्रसाद’ को सफलतापछि अधिकांश दर्शकले अब अर्को फिल्म कुन र कहिले जस्ता प्रश्न गरेर हैरान पारेको प्रसंग कोट्टयाउँदै सुनाए, ‘सोसल मिडियामा जहिल्यै यही प्रश्नको उत्तर दिँदादिँदै हत्तु भएपछि मैले फेसबुक नै बन्द गरिदिएँ ।

केही अघि फिल्मको टिजर आएपछि भने बल्ल सन्तोषको सास फेरेको छु ।’ फिल्मका पटकथा लेखकसमेत रहेका खगेन्द्रले आफूहरूको बुद्धि र बर्कतले भ्याएसम्म राम्रो गर्ने प्रयास गरेको बताए । फिल्म आफ्नै कथासंग्रह ‘फुलानी’ को ‘बाबुसाहेबको साइकल’ मा आधारित भई लेखेको उल्लेख गर्दै उनले थपे, ‘त्यो कथा पनि मैले लेखें र फिल्मको पटकथा पनि मैले नै लेखें । तर फिल्म लेख्नु धेरै फरक हुने रहेछ । यसपटक झन् सिक्ने मौका पाएँ ।’

‘धनपति’ असार २३ मा रिलिज हुँदै छ ।

Share.

Leave A Reply