नेपालमा लाखौंको संख्यामा पाइने गिद्ध पछिल्लो समय केही हजारमा मात्र सीमित

0

इलाम, १ बैशाख ।

करिब डेढ दशक अघिसम्म गाउँघर वरपर सयाँैको संख्यामा सिनोमा लुछाचुडी गर्दै गरेका गिद्ध भेटिन्थे । तर, ती दृश्य अहिले दुर्लभ भएका छन् । एक वर्षअघि सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सी नजिकै आठ वटा गिद्ध मृत भेटिए । जंगली जनावर चितुवा, बँदेल र स्याल मार्न सिनोमा विषादी लगाएर जंगल छेउमा राख्ने गरेकाले त्यही सिनो खाँदा गिद्ध मरेको स्थानीय उदयबहादुर राईले बताउनुभयो । गिद्ध लोप हुँदै गएपछि गाउँपालिकाले सबै वडामार्फत विषादी प्रयोग गरेको सिनो नफ्याक्न आग्रह गरेको छ । मरेका जनावरको सिनो खाई प्रदूषित र दुर्गन्धित वातावरणलाई स्वच्छ र सफा राख्ने प्राकृतिक कुचीकार गिद्धले विभिन्न महामारी हैजा, झाडापखला, रेबिज, प्लेग, एन्थ्राक्स जस्ता रोग फैलन रोक्न महत्वपूर्ण भूमिका खेल्छन् । डेढ दशकअघिसम्म दक्षिण एसियामा करोडौँको संख्यामा र नेपालमा लाखौंको संख्यामा पाइने गिद्ध पछिल्लो समय केही हजारमा मात्र सीमित हुन पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को प्रतिवेदनमा उल्लेख छ । विश्वमा २३ प्रकारका गिद्ध पाइन्छन् । जसमध्ये दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्धहरू नेपालमा समेत पाइन्छन् । तीमध्ये ६ प्रजातिका गिद्धहरू नेपालमै गुँड बनाई बच्चा कोरल्छन् भने बाँकी हिउँदे आगन्तुकको रूपमा आउने गरेको विभिन्न समयमा गरिएको अध्ययनले देखाएको छ । एउटै सिनो र बासस्थानलाई सामूहिक उपयोग गर्ने विभिन्न प्रजातिका गिद्धहरू मानव बस्ती वरपर अग्ला, बलिया रुख र पहराहरूमा गुँड बनाई बस्छन् । भारतमा सन् १९९२ देखि २००७ सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डंगर गिद्ध ९९.७ प्रतिशत र सानो खैरो ९८ प्रतिशतले घटेको आइयुसिएनले जनाएको छ । नेपालमा पनि सन् २००२ देखि २०१० सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डंगर गिद्ध ९१ प्रतिशतले घटेको पाइएको छ । यसरी गिद्धको संख्या अप्राकृतिक रूपमा घटेकाले आइयुसिएनले नेपालमा पाइने सानो खैरो, डंगर, लामो ठुँडे र सुन गिद्धलाई अतिसङ्कटापन्न र सेतो गिद्धलाई सङ्कटापन्न सूचीमा सूचीकृत गरेको छ । अतिसङ्ककटापन्न प्रजाति आउने १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत रहने संरक्षणकर्मी धनबहादुर खाम्दाकले बताउनुभयो । इलामको सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको २५ सय मिटरमाथि गिद्ध बेलाबेला देखा पर्ने गरेको छ । बेलाबेला देखिने गिद्धको बासस्थान, खानपान र संरक्षणबारे अहिलेसम्म कुनै कार्यक्रम भएका छैनन् । गिद्ध संरक्षणका लागि राष्ट्रिय निकुञ्ज नभएको जिल्लामा जिल्ला वन कार्यालयलाई संरक्षणको जिम्मा दिए पनि वार्षिक कार्यक्रम नभएको डिभिजन वन कार्यालय इलामका प्रमुख श्रीप्रसाद बरालले बताउनुभयो । ०००००००

Share.

Leave A Reply