नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा बलर सन्दीप लामिछानेद्वारा इन्डियन प्रिमियर लिग मार्फत् नेपाललाई चिनाउन भरमग्दूर प्रयास गर्ने घोषणा

0

विर्तामोड, ५ चैत ।

 

नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा बलर सन्दीप लामिछानेले भारतमा शनिबारदेखि सुरु हुने १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटमार्फत् आफूले नेपाललाई चिनाउन भरमग्दूर प्रयास गर्ने बताएका छन् । दिल्ली क्यापिटल्सबाट दोस्रोपटक खेल्दै गरेका सन्दीपले आफू टिममा जुनसुकै भूमिकामा रहेपनि नेपालको प्रतिनिधित्व गरेर खेल्ने बताएका हुन् । दिल्ली जानुअघि आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सन्दीपले यसपटक दिल्लीलाई उपाधि जित्ने मौका रहेको बताएका छन् ।
टिममा ब्याटिङ र बलिङ राम्रो भएकाले त्यसलाई तालमेल मिलाउन सकियो भने अगाडि बढ्न सकिने सन्दीपको विष्लेषण छ । दिल्लीले पहिलो खेलमा चैत १० गते आइतबार मुम्बई इन्डियन्ससित प्रतिस्पर्धा गर्नेछ । सन्दीपले गत वर्ष पछिल्ला तीन खेलमा मात्र अवसर पाएकामा ५ विकेट लिँदै सनसनी मच्चाएका थिए । त्यसयता सन्दीपले विश्वका विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा सहभागिता जनाउने अवसर पाउँदै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सन्दीप भोलि बुधबार दिल्ली जाँदैछन् । ००००००

 

Share.

Leave A Reply