नेपाल एसियाकप क्रिकेटका लागि छनौट : मलेसिया १० विकेटले पराजित

0

काठमाडौँ, ३१ भदौ । मलेसियामा जारी एसीसी अण्डर १९ रिजनल छनौटको फाईनल प्रवेश गर्दै नेपाल, आसन्न अण्डर १९ एसियाकप क्रिकेटका लागि छनौट भएको छ ।

रिजनल छनौट अन्र्तगत आज भएको पहिलो सेमिफाईनलमा घरेलु टोली मलेसियालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल अर्को बर्ष हुने उमेर समुहको एसियाकप क्रिकेटका लागि छनौट भएको हो । मलेसियाले प्रस्तुत गरेको १ सय २२ रनको चुनौती नेपालले ३२ दशमलब १ ओभरमा बिना क्षति भेट्टायो । ओपनरद्धय सन्दिप सुनार र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई सहज जित दिलाए । सुनार ५१ र शेख ५० रनमा नटआउट रहे । ४८ बलको सामना गरेका शेखले ८ चौका र १ छक्काको मद्धतमा ५० रन बनाएका हुन् । सुनारले ८ चौका प्रहार गरे । यसअघि क्वालालामपुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेको नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको घरेल् टोली ४२ ओभरमा १ सय २१ रन मै समेटिएको थियो । आफ्नो उत्कृष्ट बलिङलाई निरन्तरता दिने क्रममा कप्तान दिपेन्द्रसिंह ऐरीले ५ विकेट चटकाएपछि मलेसियन ईनिङस कमजोर बनेको थियो । पवन सर्राफले २ तथा सन्दिप लामिछाने,सहाव आलम र रोहित कुमार पौडेलले एक एक विकेट लिए । रिजनल छनौटको फाईनल प्रवेश टोली आसन्न उमेर समुहको एसियाकप क्रिकेटका लागी छनौट हुनेछन् । अर्को सेमिफाईनलमा अहिले हङकङ र सिंगापुरबीच खेल भईरहेको छ ।

Share.

Leave A Reply