पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने कांग्रेस सभापति देउवाको जिकिर, सरकारविरुद्ध सङ्घर्षमा जानुपर्ने बेला आएको केन्द्रीय सदस्य सिटौलाको ठहर

0

विर्तामोड, ३ जेठ ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्ने बीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताउनु भएको हो । “पार्टीको आन्तरिक कारण मात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको हो”, उहाँले भन्नुभयो ।
मुलुकमा कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल काङ्ग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उहाँको भनाइ थियो । “आगामी निर्वाचनमा विजयी हुने गरी देशभर लोकतान्त्रिक विचार प्रवाह गर्न समाज लाग्नुपर्छ”, सभापति देउवाले भन्नुभयो । अन्तरघात मुक्त काङ्ग्रेस निर्माणमा प्रजातान्त्रिक विचार समाज लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै काङ्ग्रेसभित्र सशक्त एकताको खाँचो रहेको बताउनुभयो ।
काङ्ग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकारका गतिविधि जनताको हितविपरीत भएको भन्दै सरकारविरुद्ध सङ्घर्षमा जानुपर्ने बेला आएको बताउनुभयो । पार्टीका पूर्वमहामन्त्री सिटौलाले पार्टी आन्तरिक प्रतिस्पर्धाभन्दा कलहमा फस्दा समस्या उत्पन्न भएको बताउँदै पार्टीभित्र सैद्धान्तिक, नीति, कार्यक्रममा आधारित एकता आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । नेता सिटौलाले प्रेस स्वतन्त्रताको पक्षमा काङ्ग्रेस सधैँ दृढ रहेको पनि स्पष्ट पार्नुभयो ।
काङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले लोकतन्त्रको आवरणमा निरङ्कुशको बाटोमा अगाडि बढ्न खोजेको बताउनुभयो । मिडिया काउन्सिल, मानवअधिकार, राष्ट्रिय सुरक्षा परिषद् विधेयकले सरकारले सत्ता कब्जा गर्ने खेल गरेको आरोप लगाउँदै उहाँले पार्टीभित्रको जागरण अभियानका लागि स्वजागरण अभियान आवश्यक रहेको बताउनुभयो । ०००००००

Share.

Leave A Reply