पार्टी एकताको अन्तिम घोषणा हुन अब केही दिन मात्रै बाँकी रहेको अध्यक्ष प्रचण्डको दावी, सरकारविरुद्ध भ्रम फैलाउनेको भण्डाफोर गर्न प्रदेश अध्यक्ष घिमिरेको निर्देशन

0

विर्तामोड, १ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका युवा संगठनहरुको एकिकरणको काम दुई दिनभित्र टुंगो लगाइने घोषणा गर्नु भएको छ । अध्यक्ष दाहालले जनवर्गीय संगठनहरुको एकिकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको पनि स्पष्ट पार्नुभयो । उहाँले मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको एकिकरणको काम सम्पन्न हुने गरी भोलि पार्टीको सचिवालयको बैठक बोलाइएको पनि जानकारी दिनुभयो ।
युवा संघ, नेपालको स्थापना दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनहरुको एकिकरण भने हुने घोषणा पनि गर्नुभयो । अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने अध्यक्ष दाहालको भनाइ छ ।
अध्यक्ष दाहालले पार्टीका नेताहरु केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण पनि गराउनुभयो । उहाँले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो । तर, उहाँले के गर्न खोजेको हो भन्ने चाहिँ स्पष्ट पार्नु भएन । अध्यक्ष दाहालले नागरिक र राष्ट्रको चाहना र भावनाको जगमा दुई पार्टीबीच एकता भएको पनि स्पष्ट पार्नुभयो ।


यता झापामा आयोजित कार्यक्रममा नेकपाका नेताहरुले सरकारविरुद्ध भ्रम फैलाउनेको भण्डाफोर गर्नु पर्ने बताएका छन् । झापाको सालवारीमा आज आयोजित कार्यक्रममा प्रदेश १ का अध्यक्ष देवराज घिमिरले सरकारका राम्रा कामको प्रचार गर्न युवाहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य देवेन्द्र दाहाल, प्रदेश सभा सदस्य झलकसिंह दर्लामी, युवा संघका सचिव राजु कार्की, सङ्घका झापा अध्यक्ष शम्भु भण्डारी लगायतले बोल्नु भएको थियो । ००००००

Share.

Leave A Reply