पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व सुरु

0

विर्तामोड, १ बैशाख ।

नयाँ वर्षको सुरवातसँगै पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व सुरु भएको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया, गनगाई, मेचे माझीलगायत कोच जातिका समुदायले आजदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउने गर्दछन् । कोच समुदायमा यो पर्वले निकै महत्व बोकेको छ । वर्षभरिको रिसरागलाई पानीले पखालेर आपसमा पानी हालेर पहिलो दिन पानी सिरुवा, दोस्रो दिन आफ्नो कुल देवीदेवताको पूजा गर्ने गरिन्छ ।

वर्षको एक दिन माटोसँग खेलेमा शरीरका रोगहरु नाश हुने मान्यता रहेकाले आपसमा हिलो लगाएर काद सिरुवा खेल्ने र सिरुवाको अन्तिम दिन नयाँ वर्षलाई हर्सोल्लासका साथ रङ्गले खेलेर समापन गरिने प्रचलन रहेको कमल गाउँपालिका–६ का आदिवासी समुदायका अग्रज नित्यानन्द ताजपुरियाले बताउनुभयो । परापूर्वकालदेखि आदिवासी समुदायले मनाउँदै आएको सिरुवा पर्व विगतका केही वर्षहरुमा सामुहिक रूपमा मनाउँदै आएको नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिवसमेत रहेका ताजपुरियाले जानकारी दिनुभयो । यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ । झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्दै आएका राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझी लगायतका जातिले सिरुवा मनाउने गरेका छन् । पर्वको अवसरमा यी जिल्लामा विशेष सांस्कृतिक कार्यक्रमसहित सिरुवा मेला पनि लाग्ने गर्दछ । ००००००

Share.

Leave A Reply