प्रथम बिर्तामोड गोल्डकपको दोस्रो खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लबद्वारा गोलको वर्षा

0

विर्तामोड, २२ जेठ ।

प्रथम बिर्तामोड गोल्डकपको आज भएको दोस्रो दिनको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ । पाँचथरको स्वतन्त्र फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै पाञ्चायन अन्तिम चारमा प्रवेश गरेको हो ।

 

दोस्रो क्वार्टर फाइनल खेलको सुरुवाती समयमा दुवै टिमबाट गोल हुन नसके पनि पहिलो हाफको ३६ औँ मिनेटमा पाँचथरको स्वतन्त्र एफसीका तर्फबाट उत्कृष्ट गोल भएको थियो । राजन माझीले सम्झनलायक प्रहार गरेर १—० को स्थितिमा ल्याए । तर, तीन मिनेटपछि सुनसुरीको पाञ्चायनका लागि कप्तान तीर्थ बस्नेतले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफसम्म दुवै टिमको समान १—१ गोल रहेकोमा दोस्रो हाफमा गोलको वर्षा भएको थियो । पाञ्चायनका तर्फबाट दोस्रो हाफको १६औँ मिनेटमा अजित चौधरी, २१औँ मिनेटमा अनिश राजधामी र २४ औँ मिनेटमा कप्तान तीर्थ बस्नेतको प्रहारले जाली चुमेको थियो । दोस्रो हाफको ४५ औँ मिनेटमा पाँचथरका खेलाडीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा आरके कन्दङवाले गोल गरेका थिए । तर, त्यसको एक मिनेटमै सुनसरीका कप्तान तीर्थ बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै ५–२ गोलको फराकिलो अन्तर निकाले ।

 

टिमका लागि दुई गोलमा एसिस्ट रहेको तीर्थ बस्नेत खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष प्रशान्त भण्डारीले नगद तीन हजार रुपैयाँ प्रदान गरे । रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५० हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने आयोजकका अध्यक्ष राजकुमार विश्वकर्माले जनाएका छन् । भोलिको खेल मुनाल एफसी चन्द्रगढीविरुद्ध पूर्वेली युथ क्लब बिर्तामोडबीच हुनेछ । ०००००००

Share.

Leave A Reply