प्रदेश १ को संसदीय समितिको नेतृत्व चयन गर्न आज मनोनय दर्ता, सुशासन तथा योजना समितिमा अर्जुन राई सभापति बन्ने

0

विर्तामोड, २१ चैत ।


प्रदेश १ को संसदीय समितिको नेतृत्व चयन गर्न आज मनोनय दर्ता भएको छ । समितिका सभापति निर्वाचित गर्न मनोनयन दर्ता भएको हो । समितिको निर्वाचन भोलि हुनेछ । संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सात वटै समितिको सभापतिको लागि मनोनयन दर्ता भएको छ । ६ मध्ये चार वटा दलहरुबीच सभापतिका लागि सहमति भएसँगै पूर्व एमालेले चार, पूर्व एनेकपा माओवादीले दुई र कांग्रेसले एक समिति लिने सहमति भए अनुसार नै मनोनय दर्ता भएको हो ।

जसअनुसार एमालेभित्र नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका तीन जना र माधव नेपाल समूहका एक जना परेका छन् । निर्वाचन कार्यतालिका अनुसार मध्यान्ह ढिलो गरी मात्र मनोनयन सुरु भएको थियो । प्रमुख निर्वाचन अधिकृत तथा संसद सचिवालयका सचिव अम्बिकाप्रसाद चौंलागाईंले सातवटै समितिको सभापति पदका लागि मनोनयन गरेको बताउनुभयो ।

न्याय, प्रशासन तथा विधायन समितिमा सांसद इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिमा अर्जुन राई, अर्थ समितिमा मोहनकुमार खड्का, सामाजिक विकास समितिमा सरिता थापा, उद्योग, पर्यटन तथा वातावरण समितिमा सीता थेवे र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा सर्वध्वज साँवाको मनोनयन परेको छ । कांग्रेसका सांसद शिवनारायण गनगाईले सार्वजनिक लेखा समितिमा मनोनयन दर्ता गराउनु भएको छ । सभापतिहरुको निर्वाचन भोलि हुनेछ । ००००००

Share.

Leave A Reply