प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जना प्रहरीद्वारा सार्वजनिक

0

विर्तामोड, २१ चैत ।


प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आज सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् थिए । पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् । प्रहरीका अनुसार १५ गतेको विज्ञान र १४ गतेको सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैत मार्फत् चुहिएको थियो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची विष्णुदेव यादवलाई पठाएका थिए । यादवले पहिले मनोजलाई पठाएका थिए । र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो । त्यसक्रममा एक जनाले सामाजिक सञ्जालमा प्रश्नपत्र अपलोड गरेपछि यो प्रकरण सार्वज्जनिक भएको थियो । उनीहरुबाट बरामद मोबाइलको प्राविधिक विश्लेषण भइरहेको प्रहरीको भनाइ छ ।
यसैबीच प्रदेश नम्बर–२ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि स्थगित गरिएको एसइई परीक्षा भोलिदेखि पुनः हुने भएको छ । अंग्रेजी, गणित र नेपाली विषयको परीक्षा भइसकेपछि त्यसपछिका विषयको प्रश्नपत्र बाहिरिएपछि रोकिएको परीक्षा पुनः सञ्चालन गर्न लागिएको हो । परीक्षाका लागि सरकारले सुरक्षा व्यवस्थासमेत कडा बनाएको छ । प्रदेश–२ का ७० हजार ५६८ परीक्षार्थी परीक्षामा सामेल हुनेछन् ।

Share.

Leave A Reply