भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १७९ जनाको उद्धार, भारतको मणिपुरबाट उद्धार गरिएका १४७ महिला काँकडभिट्टा नाका हुँदै स्वदेश फिर्ता

0

विर्तामोड, ७ फागुन ।
भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १७९ जनालाई उद्धार गरी नेपाल ल्याइएको छ । उद्धार गरिएकामा १४७ महिला र ३२ जना पुरुष छन् । मानव बेचबिखनको जोखिममा परेका १७९ जना नेपालीलाई भारतको मणिपुरबाट नेपाल सरकारका प्रतिनिधि र माईती नेपालले उद्धार गरी नेपाल फर्काएको हो ।

भारतको मणिपुरबाट उद्धार गरेर मंगलबार नेपाल ल्याइएका १७९ नेपालीलाई काठमाडौं लैजान पूर्वी नाका काँकडभिट्टास्थित मेची भन्सार परिसरमा राखिएका नेपाली बस । तस्वीरः चन्द्रकला भण्डारी, झापा, रासस

मणिपुरको इम्फालबाट म्यानमार हुँदै इराक लैजादै गरिएको अवस्थामा उनीहरूको उद्धार गरी आज झापाको काँकडभिट्टा नाका हुँदै ६ वटा बसमा नेपाल ल्याइएको छ । अवैध रुपमा इराक लैजान लागिएका नेपाली एकै पटक ठूलो संख्यामा फर्काइएको यो पहिलो घटना भएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताउनुभयो । गोप्य सूचनाको आधारमा दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर सरकारी संस्थाको सक्रियतामा उनीहरूलाई उद्धार गरिएको हो । उनीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारले पहल गर्ने र घटनाको छानबिन गर्ने महिला तथा बालबालिका मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । उद्धार गरिएकाहरुलाई काठमाडौं लगिदैं छ । ०००००००

Share.

Leave A Reply