भेडेटारका होटेलमा जग्गा बाहेक होटेलमा झण्डै एक अर्ब भन्दा बढी लगानी

0

विर्तामोड, २ चैत ।

प्रदेश १ कै चर्चित पर्यटकीय स्थल भेडेटारमा पर्यटक आगमन सकारात्मक रूपमा बढेसँगै पर्यटन क्षेत्रमा देखिएको लगानी पनि निकै बढेको छ । पछिल्लो समय देखिएको राजनीतिक स्थितरता र पर्यटनप्रतिको प्रतिबद्धताले भेडेटारमा सकारात्मक प्रभाव परेको छ । त्यसो त भेडेटार, भौगोलिक हिसाबले पनि पूर्वी तराइका बजारसँग नजिक छ । सहज यातायातको पहुँच छ । यो क्षेत्रमा पछिल्लो समय पर्यटकको आगमन दिनप्रतिदिन बढिरहेको छ । पूर्व घुम्न आउने जो कोही आन्तरिक तथा बाह्य पर्यटकहरू एक पटक भेडेटार अवश्य पुग्छन् । समुन्द्री सतहदेखि करिब १४ सय २६ मिटर उचाइमा रहेको भेडेटारबाट जुनसुकै मौसममा पनि पूर्वी तराईका सुन्दर फाँट, सप्तकोशी नदीको फाँटसहित मकालु, कुम्भकर्ण जस्ता सेताम्मे हिमाल स्पष्ट देखिन्छन् । प्रदेश १ कै चर्चित पर्यटकीय स्थलको रूपमा परिचित भेडेटारमा पर्यटकको आगमन बढ्दै जान थालेपछि सुविधा सम्पन्न होटलहरू खुल्ने क्रम पनि बढ्दो छ । पर्यटकको आगमनले स–साना देखि ठूला लगानीका होटेल व्यवसायीलाई प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । भेडेटारमा सञ्चालित होटलहरू दैनिकजसो पर्यटकले भरिभराउ हुने गर्छन् । त्यसो त सुनसरीको धरानबाट नागबेली सडक पार गर्दै पुगिने भेडेटारमा जुनसुकै बेला पनि चिसो हावा पाहुनालाई स्वागत गर्न तत्पर रहन्छ । भेडेटारमा पछिल्लो समय आन्तरिक तथा वाह्रय पर्यटकहरूलाई लक्षित गर्दै होटेल व्यवसायमा ठूलो लगानी हुन थालेको होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयो । उहाँले भेडेटारमा पर्यटनको धेरै सम्भावना भएरै होटेल थपिने क्रमसँगै लगानी बढेको हो । भेडेटारमा ठूला लगानीका स्तरीय ४० र मझौला तथा साना लगानीका ७० गरी ११० भन्दा बढी होटल सञ्चालनमा रहेको होटेल एसोसिएसन भेडेटारको तथ्याङ्कमा उल्लेख छ । भेडेटारका होटेलमा जग्गा बाहेक होटेलमा झण्डै एक अर्ब भन्दा बढी लगानी रहेको अध्यक्ष राईको भनाइ छ । भेडेटारले एक रातमा १ हजार पर्यटकलाई बास दिन सक्ने उहाँले बताउनुभयो । ००००००

Share.

Leave A Reply