मधेसलाई आसियाको सन्देशः मधेसको मित्र एमाले मात्रै हो, आन्दोलनले पराईको सेवा गर्ला कि !

0

 

कांग्रेस देखि राजपासम्मका सत्तारुढ दलले प्रमुख प्रतिपक्षी दल एमाले विरुद्ध आक्षेप लगाउने एउटै अस्त्र छ– ‘एमाले मधेस विरोधी हो, मधेसीलाई एमालेले हेप्छ ।’ आफ्नो नेतृत्वमा सरकार रहेका बेला तराई मधेसमा अहिलेसम्मकै रेकर्ड तोडेर विकासका कार्यक्रम र बजेट दिने एमालेमाथि साम्प्रदायिक संवेदना भड्काउने उद्धेश्यले नै यस्ता आरोप लगाउने गरिएको थियो । तर, एमालेले भने स्थानीय चुनावमा मधेसी मुलबाट राजधानी उपत्यकामा उम्मेदवार नै बनाएर जिताएको छ । त्यसको उदाहरण बनिन् ११ वर्षको उमेरमै बालविवाह भोगेकी रौतहटकी आसियाकुमारी ठाकुर ।

उनलाई स्थानीय निर्वाचनमा एमालेले काठमाडौं तारकेश्वर नगरपालिका–४ बाट वडा सदस्यमा उम्मेदवार बनाई जितायो । उनी पनि एमालेप्रति कृतज्ञ छिन् । मधेसका जनताले एमालेलाई आफ्नो ठाने पनि सिमानापारीबाट एमाले मधेस विरोधी भएको हल्ला चलाइयो र त्यसैको सहारामा देशभित्र साम्प्रदायिकता हुर्काउन खोजियो भन्नेमा आसिया स्पष्ट छिन् ।

राजधानीमा जनप्रतिनिधि निर्वाचित भएकी ३८ वर्षीया आसियाले एमालेको यो कदमले मधेस र पहाडबीच सामाजिक सद्भावको सन्देश दिने वताइन् । आसिया सिलाइ–बुनाइपछि हस्तकला व्यवसाय सुरु गरेर टोलमा जाँगरिली महिलाका रूपमा चिनिँदै गइन् । आफूले जानेको सीप अरूलाई सिकाउँदै जाँदा उनी ‘आशा दिदी’का रूपमा परिचित भएकी हुन् ।

काठमाडौंमा पहिला भात मात्रै पकाइन् 
प्रेमपुरनागरिया ४ मा जन्मिएकी आसियाको ०४६ मा रौतहट औरैयाका नगेन्द्रप्रसाद विश्वकर्मासँग विवाह भयो । त्यतिवेला उनी जम्मा ११ वर्षमा टेक्दै थिइन् । सामान्य अशिक्षित कृषक परिवारमा हुर्किएकी उनले बाल्यकालमै विवाह भएकाले लामो समयसम्म वैवाहिक जीवनको अनुभूति गर्न सकिनन् । रजश्वला हुनुभन्दा पहिल्यै छोरीको विवाह गर्नुपर्छ भन्ने रुढिवादी सामाजिक प्रचलनकै कारण आफू विवाह गर्न बाध्य भएको उनी बताउँछिन् । ‘पारिवारिक अवस्था कमजोर र असक्षम भएकाले होइन, सामाजिक प्रचलनलाई पछ्याउनुपर्ने बाध्यताका कारण मेरो सानै उमेरमा विवाह भयो,’ उनले भनिन् ।

सानै उमेरमा विवाह भएका कारण थुप्रै नरमाइला अनुभूति छन्, उनीसँग । ‘बिहेपछि एक वर्ष श्रीमानकै घरमै बिताएँ । के गर्ने, कसो गर्ने ? केही कुराको मेसो थिएन । कहिले चिन्ता लाग्थ्यो त कहिले रमाइलो मान्थेँ,’ उनी सम्झिन्छिन्, ‘एक वर्ष परिवारसँग बिताएपछि काठमाडौं आएँ । विद्युत् प्राधिकरणमा जागिरे श्रीमानले कोठामा भात पकाउने काममा पनि सघाउनुहुन्थ्यो । काममा मलाई उहाँले सघाउनुहुन्थ्यो । धेरै सँगै नबसेकाले पनि होला, घर परिवारमा सासु–ससुरा कसैबाट नराम्रो व्यवहार खेप्नुपरेन ।’ तर, १८ वर्षको उमेरमा गर्भवती भएपछि भने उनलाई बल्ल विवाह भएको हो कि जस्तो अनुभूति भएछ । ‘बल्ल मलाई बिहे भएको जस्तो लाग्यो,’ उनले भनिन्, ‘आमा बन्दै छु । मेरो पनि पारिवारिक जिम्मेवारी थपिँदै छ भन्ने बोध भयो मलाई ।’

यसरी बनिन् आशा दिदी 
श्रीमान् विद्युत् प्राधिकरणको जागिरे भएकाले कोठामा आसिया एक्लै हुन्थिन् । एक्लै बस्दा दिक्दारी लाग्न थालेपछि फुर्सदकै बीचमा कोठामा रुमाल, टोपी, स्वेटर बुन्दै बुट्टा भर्न सिकिन् । त्यसको केही महिनामै त्यस्तै काम गर्न पाइन्, उनले । ‘सुनिता नामकी बहिनीमार्फत नयाँ बजारको कारखानाले घरमै बुट्टा भर्ने कामको अफर दियो,’ उनी भन्छिन्, ‘कोठामै बसीबसी पाँच सयदेखि १५ सय ‘पिस’सम्म बुट्टा भरेर बुझाउन थालेँ ।’ आर्यआर्जन गर्दै उनले आफूले जानेको सीप अरूलाई पनि सिकाउन थालिन् ।

आफ्नो सीप देखेर बालाजु बाइपासका धेरै छिमेकी महिला काम सिक्नका लागि आफूकोमा आएको उनले बताइन् । ‘मेरो सीप देखेर धेरैजना दिदीबहिनी मकहाँ आउन थाल्नुभयो । मैले पनि सकेसम्म आफ्नो सीप बाँडँे,’ उनले भनिन् । कारखानाबाट धेरै अर्डर आउन थालेपछि अरूलाई अवसर दिँदै जाँदा व्यवसायीकै रूपमा उनको नयाँ परिचय बन्यो । अनि चिन्नेहरू सबैले उनलाई भन्न थाले– ‘आशा दिदी’ ।

‘एकैपटकमा दुई सय जना सम्मलाई काम सिकाउन थालेँ,’ उनले भनिन्, ‘कतिलाई घरमै हाते बुनाइसम्बन्धी तीनमहिने तालिम पनि दिएँ ।’ सीप सिकेर आत्मनिर्भर बनेका थुप्रै महिलाको जीवनशैली नै फेरियो । ‘मैले २२ जनासम्मलाई छुट्टाछुट्टै समूहमा राखेर तालिम दिएँ । सयौँ अशिक्षित महिलालाई आत्मनिर्भर बनाएँ,’ उनले भनिन्, ‘आफ्नो खुट्टामा उभिन नसक्दा श्रीमानको कुटाइ खाएको, अपमान सहनुपरेको मैले धेरै घटना देखेको छु । त्यस्ता महिलालाई आत्मनिर्भर बन्न मैले धेरै प्रेरित गरेकी छु । यसमा मलाई निकै खुसी लाग्छ ।’ अहिले जनप्रतिनिधि बनेपछि उनको व्यस्तता त झनै बढेको छ । जसकारण तालिम दिने पर्याप्त समय भने उनीसँग छैन । तर, आफ्नो पुरानो पेशालाई कसैगरी पनि निरन्तरता दिइरहने योजना उनको छ ।

एमालेले यसरी दियो टिकट
२० वर्षदेखि काठमाडौंमा महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउनमा सक्रिय आसियाको व्यक्तित्व उदार समाजसेवी महिलाका रूपमा समेत उजागर हुँदै थियो । त्यही बीचमा उनलाई स्थानीय निर्वाचनमा एमालेबाट वडा सदस्यको टिकट अफर आयो । राजनीतिबारे सामान्य चासो रहे पनि धेरै जानकारी नरहेको बताउने उनलाई टोलकै एमाले नेत्री सरिता गौतमले पार्टीका तर्फबाट उम्मेदवार बन्न प्रस्ताव गरेकी थिइन् ‘भोट हाले पनि म कुनै पार्टीमा आबद्ध थिइनँ, तर टोलकै अगुवा सरिता गौतमको सम्पर्कबाट म पार्टीनिकट भएँ,’ उनले सम्झिइन्, ‘पार्टी भनेको के हो ? थाहा थिएन । महिलालाई तालिम दिने काममै व्यस्त हुन्थेँ, मिहिनेतका साथ काम गरेको र अरूलाई पनि सीप सिकाउँदै आएकाले हुन सक्छ, उहाँकै प्रस्तावमा अन्ततः म उम्मेदवार बनेँ ।’

उम्मेदवार बन्न प्रस्ताव आउनेबितिक्कै उनले रौतहटमा रहेका बाबुसँग अनुमतिका लागि परामर्श गरिन् । बाबुले उनलाई अघि बढ्न उत्साहित गरे । त्यसपछि आफू अघि बढेको उनी बताउँछिन् । ‘पार्टीको सिद्धान्त र कार्यक्रम के हुन्, धेरै जानकारी थिएन, तर उम्मेदवारीपछि सक्रिय बनेर मत मागेँ र सबैको विश्वास जितेर विजयी बनेँ,’ उनले भनिन् ।

वडामा लोकप्रिय आसियाले दलित महिला सदस्यको कोटामा कांग्रेसकी प्रतिद्वन्द्वीलाई ३ सयभन्दा बढी मतले हराइन् । उनले ५ सय ८५ मत प्राप्त गरिन् । विजयी भएलगत्तै मधेसकी चेली भन्दै उनलाई थुप्रै बधाई आए ।

‘तराईबाट बुबाले फोन गरेर बधाई दिनुभयो । इष्टमित्रले पनि बधाई दिँदै असल काम गर्न शुभेच्छा प्रकट गरे,’ उनले भनिन् । विजयी बनेपछि क्षेत्रपाटीका एकजना अपरिचित वृद्धले व्यक्ति घरमै आएर बधाई दिएको स्मरण उनको छ । ‘क्षेत्रपाटीका एकजना वृद्ध बुबाले पत्रिकामार्फत म विजयी बनेको थाहा पाउनुभएछ,’ उनले भनिन्, ‘उहाँ घरमै आउनुभयो । पहाड र तराईबीच सद्भाव भड्किएकाले मिलेर बस्नुपर्ने सन्देश फैलाउन आशीर्वाद दिएर जानुभो ।’

आन्दोलन पराईको स्वार्थमा छ कि हेरौं
इमानदारी र मिहिनेतका साथ काम गर्ने सानैदेखिको स्वभावले आफू जनप्रतिनिधिमा निर्वाचित भएको उनको बुझाइ छ । त्यसो त आफू अघि बढ्नेबितिक्कै अहिलेसम्म कतै असफल नबनेको स्मरण उनको छ । अन्यायविरुद्ध सधैँ लड्ने स्वभावले पनि आफूलाई राजनीतितर्फ अघि बढ्न प्रेरित गरेको बताउँछिन् उनी । ‘आजसम्मको जिन्दगीको यात्रामा म कतै असफल भइनँ, जे काम आँटे, ती सबै पूरा भएकै छन् । उम्मेदवारीपछि पनि सबैको सद्भाव देखेर विजयी हुनेमा पूर्ण विश्वास लागेको थियो,’ उनले भनिन्, ‘अन्ततः मैले सोचेजस्तै परिणाम आयो, म धेरै खुसी छु ।’

मधेस मूलकी चेली आसियालाई दिनभर श्रम बेच्ने मधेसकै दाजुभाइलाई काठमाडौंमा हेपेर बोलिने शब्दले बढी चिमोट्छ । ‘काठमाडौं आदिवासी नेवारदेखि हिमाल, पहाड, तराई सबैतिरबाट आएका नेपालीको बसोवास छ । तर, श्रम गरेर खाने तराईका दाजुभाइलाई हेपेर बोलेका शब्दले मलाई धेरै चित्त दुख्छ,’ उनी भन्छिन्, ‘मैले त अहिलेसम्म त्यस्तो अपमान सहनुपरेको छैन, तर जसलाई जहाँ अन्याय परेको छ, म एक्लै भए पनि पीडितको पक्षमा उभिन्छु ।’ यिनै स्वभावका कारण पनि पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको उनको ठम्याइ छ । ‘काठमाडौंमा अरूलाई सीप सिकाएर सेवा गर्ने यस्तो निर्भीक व्यक्तिलाई अघि बढाउनुपर्छ भन्ने लागेर पनि होला, मलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनायो,’ उनी आफू मूल्यांकन गर्छिन् । केही मधेसकेन्द्रित दलको आन्दोलनले जनताको मुद्दा बोक्न नसकेको गुनासो गरिन् । उनले राष्ट्रियता कमजोर तुल्याउने कुरालाई कुनै पनि नागरिकले स्वीकार्न नसक्ने बताइन् । मधेसका जनता हेपिएकै कारण पनि आन्दोलन गरिरहेका हुन् भन्ने कुरालाई सरकारले बुझ्नुपर्छ, तर हक–अधिकारकै नाममा राष्ट्रलाई कमजोर बनाउने गरी हिमाल, पहाड र तराईलाई विभाजित गर्ने कुरा कत्ति पनि राम्रो होइन, यसबाट पराईले स्वार्थपूर्ति गर्न सक्छन्,’ आसिया भन्छिन् ।

वडा सदस्य बनेपछि मात्रै राजनीति सिक्दै गएको वताउने उनी जनप्रतिनिधिका रूपमा आफ्नो त्यस्तो कुनै ठूलो योजना र सपना नरहेको बताउँछिन् । ‘टोलकै समस्या समाधान गर्न सबैको सुझाबअनुसार अघि बढ्ने हो, त्यस्तो ठूला योजना केही छैन । वडामा शान्ति–सुरक्षाको अवस्था कमजोर छ । वडामा प्रहरी चौकी स्थापना गर्नका लागि पहल गर्ने सोच राखेको छु,’ उनले भनिन्, ‘टोलका सडक पिच गर्ने, खानेपानी समस्या समाधान गर्ने, खेर गइरहेका सरकारी जग्गा उपयोग गर्नेलगायतका काम गर्ने योजना छ ।’ जनताको सेवामा निरन्तर लाग्दा असल र इमानदार व्यक्तिको परिचय नै आफ्ना लागि काफी हुने उनको दाबी छ ।

Share.

Leave A Reply