मृत्युपछि पनि महिलामाथि विभेद किन ?

0

मायामितु न्यौपाने । 

लेखक भएका नाताले मैले लामो समय अरुका समस्या उजागर गरेँ । विभेद कहाँ-कहाँ छ, त्यसको खोजीनीति पनि गरेँ । तर, आफूले भोग्दा त्यसले दिने पीडा शब्दमा वर्णन गर्न कठीन हुने रहेछ । मृत्यु कसरी हुन्छ भन्न सकिन्न तर, हामी मर्छाैं भन्ने कुरा सबैलाई थाहा छ । मृत्यु र जीवन एक अर्काको विकल्प होइन । मृत्यु जीवनको अन्तिम र सबैभन्दा दुःखद सत्य हो । यो दुःखद सत्यलाई भर्खरै आत्मसात गरें मैले ।

आधा आकाश ढाकेका नेपाली नारी आज पनि पुरुष केन्द्रिकृत समाजिक राजनीतिक प्रणालीको जालोभित्रै रुमलिएका छन् । समानता कागजमा सीमित भएको छ । लामो समयदेखि पत्रकारिता र मानव अधिकारको क्षेत्रमा कलम चलाउँदै आएकी म आफैँ पनि महिला र पुरुषबीचको विभेदलाई नजिकबाट नियाल्ने मौका पाएकी छु । कतिपय अवस्थामा स्वयं त्यसको भुक्तभोगी भएकी छु ।

नेपाली समाज र यसले अङ्गीकार गरेको सनातन वैदिक संस्कारसमेत विभेदकारी छन् । जन्मदेखि मृत्युपर्यन्तका थुप्रै कार्यमा पुरुषलाई नै केन्ऽमा राखिएको छ र महिलाको भूमिकालाई गौण बनाइएको छ । मृत्युपछिको १३ दिने क्रियाकर्म संस्कारमा समेत महिला विभेदको शिकार हुने रहेछन् भन्ने दह्रो प्रमाण आफैंले भोगें ।

पिताजीको देहान्तपश्चात मेरो घरमा काज किरिया कसरी गर्ने भन्ने चर्चा बाहिरबाट आयो । हामीले हाम्रो त्यस्तो कुनै योजना छैन भन्यौं र हामी सबैजना मृत्यु संस्कारमा सहभागी भयौं । संस्कारमा सहभागी भइरहँदा अनेक मानिसका अनेक कुराहरु सुनियो । बार्ने कुरादेखि खाने बस्नेसम्मका कुरामा धेरै क्रिया प्रतिक्रिया आए । सबै-सबै सुन्दै जब दागबत्ती दिएर घर आइयो । हामी काममा बस्यौं । यसैबीच बाहिर हल्ला खल्लाको आवाज आयो । बाहिर निस्किएँ । बाहिर पिण्डदानको कुरामा निकै छलफल हुँदैरहेछ ।

केको पिण्ड दिने भनेर छलफलको विषय थियो । केही आफन्तले अन्नको राजा जौको पिठोको पिण्डदान दिनु पर्छ भन्दै थिए । मेरो दाइ चाहिँ खिरको दिने भनि रहनु भएको थियो । यसमा पण्डित भने केही नबोली चुपचाप कुरा सुनिरहेका थिए । कुनै प्रतिक्रिया दिएका थिएनन् । दाइले मेरी आमा बित्दा मैले खिरको पिण्ड दिएँ भने बुबाको मृत्युमा किन जौ को पिण्ड दिन्छु ? मेरा लागि आमाबुवा उतिकै हुन् । म किन बुबाआमामा भेदभाव गर्नु भनेर जिद्धि गर्दै हुनुहुन्थ्यो ।

म झल्याँस्स भएँ । मलाई थाहा थिएन, यसअघि आमाको काममा केको पिण्ड दिइएको थियो भनेर । तर, हरेक वर्ष गरिने आमाको श्राद्धमा भने खिरको पिण्ड दिएको देखेकी छु ।

बाँच्दा त विभेद भयो भयो । मृत्युपछि पनि विभेद ? आमाबुवा सन्तानका लागि उत्तिकै होइनन् र ? बाँचुन्जेल त्यही घर, परिवार, समाज, आफन्त, नातागोता भनेर आफ्ना सम्पूर्ण रहरहरु तिलाञ्जली दिएका तिनै महिलालाई मृत्युपछि पनि कहाँ विभेद नै रहेछ । पिण्डका नाममा पनि महिला दोस्रो दर्जाको हुनुपर्ने ? कस्तो संस्कार, परम्परा, अनि यो समाज ?

दाइसँग निकै चर्काचर्की भइसकेकाले मैले थप बोल्न आवश्यक ठानिनँ र चुप लागें । निकै चर्काचर्की भएपछि पण्डित पनि तपाईको बुबाको मृत्यु संस्कार गर्न सक्दिनँ भन्दै गए ।

मलाई भने खाली महिला भएका कारण मात्रै महिलालाई खिर र पुरुषलाई जौको पिण्ड दिने होला भन्ने लागेको थियो । तर, कारण त अर्कै रहेछ !

मेरा बुवाले क्षेत्रीकी छोरी बिहे गर्नु भएकाले आमा क्षेत्रीकी छोरी भएकाले खिरको पिण्ड दिएको र बुवा उपाध्याय ब्राम्हण भएकाले जौको पिण्ड दिनुपर्ने रे ! दाइले निकै बहस गर्नुभयो । आमा बित्दा पनि यिनै आफन्त र पण्डित थिए, अहिले पनि यिनै छन् । आमा क्षेत्रीकै छोरी भए पनि बुवाले ल्याउनुभयो त हाम्रा लागि बराबर हो नि भन्नुभयो । तर, चर्काचर्की चल्दाचल्दै साँझ पर्‍यो, सबै आ-आफनो घर गए ।

भोलिपल्ट जब थलामा जाने बेला भयो, ठूलो दाइले अघिल्लो दिन खाना खाइसकेकाले क्षेत्रवास बस्नुपर्छ भन्दै सानो दाइलाई पठाउनुभयो । सानो दाइले जे जे भन्छन् त्यही त्यही गर्नुभयो । घरमा आएपछि ठूलो दाइले केको पिण्ड देको भनेर सोध्नुभयो । ‘जौको’ भनेपछि दाइको अनुहार निन्यौरो भयो ।

दाइले केही नाम चलेका पण्डितहरुलाई फोन गरेर बोलाउनुभयो । निकै ठूलो बहस चल्यो । छलफलमा अब जौ दिएपछि जौकै दिनू । पहिलो दिन जौ नदिएको भए खिरको दिँदा हुन्थ्यो । जौको अनिवार्य भनिएको होइन । तर, अन्नको राजा जौ भएकाले जौको दिँदा राम्रो भनिएको मात्र हो भन्ने निष्कर्ष निस्कियो ।

तर, दाइले मनले मानेकै छैन त म कसरी जौको दिनु भन्नुभयो । तर, पहिलो दिन जौको दिएकाले जौकै दिनुपर्ने निष्कर्ष निस्कियो । दाइले अमिलो अनुहार बनाउँदै भन्नुभयो- के मैले अब आफ्नै जन्म दिने आमालाई खिर र बुवालाई जौको पिठोको पिण्ड कसरी दिनु ? उहाँले पण्डितहरुलाई प्रश्न गर्नुभया- तपाईहरु मेरो ठाउँमा बसेर सोच्नुस् त ? तपाईहरुको मनले मान्छ ? मेरो ठाउँमा भएको भए के गर्नु हुन्थ्यो ?

आमा क्षेत्रीकै छोरी भएकाले मेरी आमालाई हजुरबुवा हजुरआमाले बुहारी स्वीकार्नुभएन । हजुरबुवा हजुरआमाले मेरीआमाले पकाएको नखाइकनै मेरी आमाको मृत्यु भयो । पछिल्लो समयमा भने हजुरबुवाले हामीलाई ख्याल गर्नुभए पनि हजुरआमाले आमा क्षेत्री भएकै कारण यी मेरा नाति नातिना हैनन् भन्नुहुन्थ्यो ।

यसरी ब्राह्मण-क्षेत्रीमा जातका कारण यति ठूलो विभेद हुन्छ । बाँच्दा त हुन्छ, हुन्छ । मृत्युपछि गरिने संस्कारमा समेत विभेद हुन्छ भने साँच्चै नै दलितहरुको अवस्था झन् अझै कस्तो होला ?

मेरीआमाको मृत्यु हुँदा ममा यति चेतना आइसकेको थिएन । आमा अलि अघि नै बित्नुभएको हो । यसरी बुझ्ने, विश्लेषण गर्ने क्षमता पनि सायद थिएन त्यतिबेला ममा । त्यसैले चुपचाप जे जे भन्यो, गरियो ।

अहिले भने जब पाँचांै दिनदेखि गरुड भन्न थालियो, ध्यान दिएर सुनें । आमाको समयमा सायद मैले यति ध्यान दिएर सुनेकी थिइनँ । यसपटक मैले पहिलोपटक पुरै ध्यान दिएर सुनें । यसमा त महिलाको नाम कहीँ पनि उल्लेख भएको पाइनँ । यो पनि त विभेद नै हो नि । पुरुष, पति, छोराको मात्र वर्णन गरिएको छ । गाई बाछीको दानको कुरा पनि छ । हामी दुई दिदीबहिनीले पनि पहिले गाई दान गर्ने कुरा गर्दै थियौं । तर, जब गरुड पुराण सुनियो, । त्यसपछि गाई दान गर्नुभन्दा कोही अप्ठयारामा परेकालाई सहयोग गरियो भने त्यो श्रेयस्कर हुन्छ जस्तो लाग्यो । र, हामीले बुवाआमाको स्मृतिमा अक्षयकोष खडा गरेर केही सामाजिक कार्यमा लगाउने उतिबेलै निर्णय गर्‍यांै । पण्डितलाई दान दिएर भन्दा सामाजिक कार्य गरेर बाआमा खुशी हुन्छन् जस्तो लागेर यस्तो निर्णय गर्‍यौं ।

मृत्युको पीडा

म अहिले जीवनको सबैभन्दा ठूलो विश्वास र भरोसा, घरको बलियो जग गुम्दाको पीडा दोस्रोपटक भोगिरहेछु । अरुलाई संसारको रीत यस्तै हो, ढिलो चाँडोमात्र हो, सबैको जाने बाटो यही हो भनेर सम्झाउन जति सजिलो हुन्छ, आफूलाई पर्दा त्यसको आत्मसात गर्न निकै कठीन हुन्छ । त्यही अवस्थामा छु अहिले म ।

हाम्रो समाजमा जन्मँदा जस्तै मृत्युपछि पनि गरिने अनेकन संस्कार छन्, त्यसमध्ये ब्रम्हनालमा सुताउने, दागबत्ती दिने, जलाउने, किरिया बस्ने, ढिकुरो खडा गर्ने, काट्टो खाई शुद्धाइँ गर्ने, गाईदान गर्ने, बरखी बार्ने र वाषिर्की गर्ने मुख्य रहेका छन् ।

त्यसपछि प्रत्येक बर्ष श्राद्ध गरेर पितृहरुलाई सम्झने गरिन्छ । यिनै मृत्यु पछिका संस्कारमा पनि पुरुषको दाँजोमा महिलालाई विभेद गरेको देखियो । हिन्दु परम्परावादी पितृसत्तात्मक समाजले सुरुदेखि नै मृत्यु संस्कारमा पनि महिलालाई पछि पारि नै राखेको रहेछ ।

किरिया बसेको बेला किरियापुत्री श्रीमान श्रीमतिबीच पनि छोइछिटो गर्नुहुँदैन भनिन्छ । तर, खानेकुराहरु भने अरुले ल्याएर दिन्छन् । जब किरियापुत्री या श्रीमतीका हातमा पुग्छ, त्यसपछि ती वस्तु अरुले छोएमा ती बस्तु बिटुलो हुने आफैंमा अचम्मलाग्दो छ । फेरि बिहान थलामा जाँदाचाहिँ अनिवार्यरुपमा क्रियापुत्रीले नै भात पकाउनुपर्ने र अरुले पकाएको वा छोएको खान नहुने, तर बेलुकी चाहिँ श्रीमतीले तताएर दिएको पानी मिश्री काँडापानी खान हुने । खानचाहिँ हुने अनि छुन नहुने । यहाँ पनि महिलालाई विभेद नै गरेको देखिन्छ ।

काजक्रियामा बसेको बेला सुनाइने गरुड पुराणमा महिलालाई कहि कतै खास चर्चा र महत्व दिइएको छैन । छ त केबल महिलाका लागि विभिन्न कठोर नियमहरु । श्रीमान बित्ने महिलाहरुले सिन्दुर, पोते, टीका, चुरा, गरगहना सबै हटाउनु पर्ने तर श्रीमती बित्दा श्रीमान केही गर्नु नपर्ने । श्रीमान बित्दा श्रीमती १३ दिन क्रियापुत्री भएर बस्नुपर्ने तर, श्रीमती बित्दा श्रीमान त्यसरी बस्नु नपर्ने पनि महिलामाथिको विभेद नै जस्तो लाग्छ ।

हुन त परिवर्तनहरु देखिन थालेका छन् । श्रीमानको मृत्युपछि महिलाले रातो लगाउने अभियान पनि चलाएका छन । त,र जुनरुपमा हुनु पर्ने हो, त्योरुपमा भने देखिँदैन । आज भोलि भने यिनै संस्कारहरुमा परिवर्तन गर्नुपर्छ भनेर कसैकसैले बहस थालेका छन् । मर्ने मरेर गइहाले बाँच्नेलाई दुख दिनुहुँदैन । मृत्यु संस्कार लामो भयो, छोट्याउनुपर्छ भन्दै बहसहरु सुरु भएका छन् । कतै कतै सात दिन, पाँच दिनमा पनि छोट्याएर गर्न थालेका छन् ।

फेरि विभेदकै कुरामा छु म ।

महिला अधिकार र समानताको कुरा उठेको थुप्रै दशक भइसक्यो । नेपालको राष्ट्रपति महिला नै हुनुहुन्छ । सभामुख र प्रधानन्यायाधीश समेत महिला भइसकेको अवस्था छ । तर, के एकजना महिला कार्यकारी पदमा पुग्नासाथै समग्र महिलाको जीवनस्तर उकासिन्छ त ? के सबै महिला अधिकार सम्पन्न र समान न्यायको भागिदार बन्न पाउछन त ?

कदापि सक्दैनन् । त्यो त हामीले देखिसक्यौं । राष्ट्रपतिजस्तो राष्ट्रको उच्च र सम्मानित पदमा पुगेको महिलाले त मन्दिरमा पूजा गर्दा सामाजिक लान्छना र अपशब्दको शिकार हुनुपर्छ भने दूरदराजका अशिक्षित र गरिब अनि सदियौंदेखि दलित भनी विभेद गरिएका जातिका महिलाको अवस्था कति नाजुक होला ?

यो विभेदको अन्त्य कसैको एकल प्रयास र एक दिनको प्रयासले हुने कुरा होइन । जबसम्म ब्यक्ति, घर र समाजले अभ्यासमै महिला विभेदलाई अन्त्य गर्ने प्रण गर्दैनन् र जबसम्म धार्मिक, सामाजिक र सनातन परम्पराको अभ्यासमै पनि सुधार गरेर महिलालाई पनि पुरुष बराबर हकअधिकार र सहभागिता सुनिश्चित गरिँदैन, तबसम्म महिलामाथिको विभेद अन्त्य हुन सक्दैन ।

राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दी स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिएर रास्ट्रपति विद्यादेवी भण्डारी यसैसाता स्वदेश फर्किन् । राष्ट्रपतिले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्दै नेपालमा महिलाको स्थिति अत्यन्तै राम्रो रहेको बताइरहँदा नेपाली महिलाहरु भने पितृसत्तात्मक परम्परावादी समाजको उत्पीडन र भेदभावको शिकार भई नै रहेका थिए ।

नेपालको संविधान ०७४ र नयाँ मुलुकी ऐनले महिलालाई लिङ्गको आधारमा गरिने कुनै पनि प्रकारको भेदभावलाई निषेध गरेको छ । तर, घर र समाजमा अहिले पनि महिला माथी हुने शारीरिक, मानसिक शोषण र विभेद कायमै छ । राजनीतिक दलहरुले आफ्नो दलको राजनीतिक घोषणपत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेका भए पनि व्यवहारमा त्यो लागू गरेका छैनन् ।

संविधान र कानूनका व्याख्ताहरुकै घरभित्र पनि महिलाहरु कुनै न कुनै रुपमा असमानताको शिकार भएकै छन् । संविधानले पुरुष बराबर स्वीकार गरेका महिलालाई राजनीतिक दलहरुले ३३ प्रतिशतमा खुम्चाए र व्यहारमा त त्यही ३३ प्रतिशत पनि लागू गर्न हिच्किचाए । के २१ औं शताब्दीमा पनि नेपाली महिला चुलोचौका र विभेदको आगोमै पिल्सिइरहनुपर्ने हो ? के अझै पनि हामी महिलाले पुरुषको निगाहमा बाँच्नुपर्ने हो ?

(न्यौपाने रेडियो भिजन ९१.६ मेगाहर्जमा समाचार सम्पादक हुनुहुन्छ ।)

Share.

Leave A Reply