राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न माग, अध्यक्ष थापाट्ठारा प्रधानमन्त्री ओलीलाई ज्ञापन, जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न झापा अध्यक्ष विष्टको माग

0

विर्तामोड, ७ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरेको छ । राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरूको सहभागितामा प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग राख्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।


त्यस्तै, अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा धर्म निरपेक्षता तत्काल खारेजी गर्न र राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वार्थमा केन्द्रित भएर अघि बढन सबै राजनीतिक दलहरूलाई आह्वान गर्नु भएको छ । उहाँले दलीय स्वार्थभन्दा माथि उठेर मुलुकको हितमा केन्द्रित हुने सबै गतिविधिलाई सरकारले साथ दिने बताउनु भयो ।


सोही कार्यक्रम अन्तर्गत झापामा पनि राप्रपा जिल्ला अध्यक्ष अम्वर विष्टले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापन पत्र वुझाउनु भएको छ । राप्रपाबाट झापामा निर्वाचित कचनकवल गाँउपालिकाका अध्यक्ष अन्जार आलम, हल्दिवारी गाँउपालिकाका अध्यक्ष रविन्द्र लिङ्गदेन, गौरीगञ्ज गाँउपालिकाका अध्यक्ष वावुराजा श्रेष्ठ लागायतका जिल्ला स्थित नेता तथा कार्यकर्ताको सहभागितामा ज्ञापन पत्र वुझाइएको हो ।


यसअघि चन्द्रगढीमा भेला भएका नेता तथा कार्यकर्ताको र्याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै जिल्ला अध्यक्ष अम्वर विष्टले राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्ने माग गर्नुभयो । जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न र धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थाहरुलाई बन्द गर्न समेत उहाँले माग गर्नुभयो ।
धर्मनिरपेक्षता खारेज गरी हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, संघीयतामा जनमत संग्रह गर्नुपर्ने, मेलम्ची र वाइडबडी जहाजमा भएको अनियमितता छानबिन गरी कार्वाही गर्नुपर्ने लगायतका विषय पनि राप्रपाले बुझाएको मागपत्रमा उल्लेख छन् । फागुन मसान्त भित्र उक्त मागहरु पूरा नभए चैत्र पहिलो हप्तावाट देशव्यापी जनसंघर्ष गर्ने राप्रपाले चेतावनी पनि दिएको छ । ००००००

Share.

Leave A Reply