लेष्टर सिटीद्वारा एभर्टन पराजित, ब्राईटन र साउथह्याम्पटन बराबरीमा

0

काठमाडौं, १३ कार्तिक ।

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा लेष्टर सिटीले एभर्टनलाई २-० ले हराएको छ ।

लेष्टर सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन जेमी भार्डीले पहिलो गोल गरे । यसपछि लेष्टरका डेमाराई ग्रेको प्रहार एभर्टनका डिफेन्डर केनीलाई छुँदै जाली चुम्न पुगेपछि लेष्टर सिटी २-० ले विजयी भएको हो ।

लेष्टर सिटी र एभर्टन दुबै टोली नयाँ प्रशिक्षकका साथ मैदानमा उत्रेका थिए । अघिल्लो साता मात्रै एभर्टनले रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर डेभिड अन्सवर्थलाई कार्यवाहक जिम्मेवारी दिएको थियो ।

उता लेष्टर सिटीले पनि यसै साता प्रशिक्षक क्रेग सेक्सपियरलाई बर्खास्त गरेर क्लाउड पुयोललाई जिम्मेवारी दिएको थियो । प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती भएको अर्को खेलमा ब्राईटनले साउथह्याम्पटनसँग १-१ गोलको बराबरी खेलेको छ ।

Share.

Leave A Reply