विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोट बरामद, युनुस अन्सारीसहित चार जना पक्राउ

0

विर्तामोड, १० जेठ ।


नेपाल प्रहरी र विमानस्थल भन्सारको संयुक्त टोलीले पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नसिर उद्दिनसहित अन्य ३ जनालाई ठूलो परिमाणको भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । यस्तै उनीहरुलाई लिन विमानस्थल पुगेका युनुस अन्सरीसहित अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
६७ वर्षीय नासिर उद्धिनसँगै नेपाल आएका ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीय नदिया अनवरलाई प्रहरीले विमानस्थल भित्रको भन्सार क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरु कतारको दोहाबाट आज नेपाल अवतरण गरेका थिए । युनुससँग रहेका सोहेल खान र गाडी चालक सुजन रानामगर पनि पक्राउ परेका हुन् ।
विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले ठूलो परिमाणको भारतीय नक्कली नोटसहित केही व्यक्ति पक्राउ परेको र उनीहरुसँग दुईवटा सुटकेसमा रहेको नोट गन्ने कार्य भइरहेको जानकारी दिनुभयो । नसिर उद्दिनको साथमा रहेको सुटकेसमा ७ करोड ६७ लाख ९४ हजार भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । भारतमा नोटबन्दी भएपछि २ हजार दरका नक्कली नोट यति ठूलो परिमाणमा फेला परेको यो पहिलो घटना हो ।
भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा जेल परेर छुटेका युनुस अन्सारी २०७० माघ ११ गते पनि पक्राउ परेका थिए । नेपाल प्रहरीको विशेष टोलीले अन्सारीलाई ललितपुरको नख्खिपोटस्थित निवासबाट ३५ लाख भारतीय नक्कली भारुसहित पक्राउ गरेको थियो । त्यसबेला उनीसहित पाकिस्तानी नागरिक महसुद आलम, नेपाली नागरिक सुरेश आलेमगर र सोहेल खान थिए । अन्सारी त्यसबेला २०७० असोज १८ मा केन्द्रीय कारागारबाट रिहा भएका थिए । अन्सारी पटक पटक नक्कली भारतीय रुपैयाँ र लागूपदार्थको कारोबार गरेको आरोपमा पक्राउ परेका थिए । अन्सारीमाथि केन्द्रीय कारागारभित्रै भारतीय ’सार्प सुटर’ले गोली हानेका थिए । ००००००

 

Share.

Leave A Reply