विश्वकप क्रिकेटको विजेताले ४४ करोड ९१ लाख रुपैयाँ पुरस्कार पाउने

0

विर्तामोड, ५ जेठ ।


आगामी ३० मे बाट सुरु हुन लागेको एकदिवसीय विश्वकप क्रिकेटको रौनक सुरू भइसकेको छ । आफ्नो टिम पक्षधरहरुले टिमका सबल र दुर्वल पक्ष केलाउन सुरु गरीसकका छन् । यस्तोमा जुलाई १४ सम्म इंग्ल्याण्ड र वेल्समा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको पुरस्कार राशी अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको छ । १२ औं संस्करणको एकदिवसीय विश्वकपको विजेता टिमले हालसम्मकै सर्वाधिक पुरस्कार रकम प्राप्त गर्ने छ । विश्वकपको विजेता टिमले ४ मिलियन अमेरिकी डलर अर्थात् ४४ करोड ९१ लाख ६० हजार रुपैयाँ पाउने छ ।

त्यस्तै यो पटकको उपविजेता टिमले २ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछ । जुन २२ करोड ४५ लाख ८० हजार रुपैयाँ हुन आउँछ । आईसीसीले पुरस्कार रकममा कुल १० मिलियन डलर खर्च गर्ने छ । जुन नेपाली रकममा १ अर्ब १२ करोड २९ लाख हुन आउँछ । त्यस्तै प्रतियोगिताको सेमीफाइनलमा पराजित हुने टिमले ८ लाख डलर पाउनेछ भने लिग चरणको प्रत्येक खेल जित्ने टिमले ४० हजार डलर हात पार्ने छन् । लिग चरणमा कुल ४५ खेल खेलिने छ । यस्तै लिग चरण पार गर्ने प्रत्येक टिमले १ लाख डलर हात पार्ने छ । प्रतियोगिताको उद्घाटन खेल ३० मे मा हुने छ । आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिका उदघाटन खेलमा प्रतिष्पर्धा गर्ने छन् । वेल्स र इंग्ल्यान्डले ४६ दिनसम्म कुल ११ मैदानमा विभिन्न खेल खेलाउने छन् । विश्वकपको फाइनल १४ जुलाईमा लर्ड्स मैदानमा हुने छ । ००००००

Share.

Leave A Reply