विश्वभरका क्याथोलिकहरुको आस्थाको केन्द्र नोट्रे डाम सोमबार राति निमेषभरमै खरानी

0

विर्तामोड, ३ बैशाख ।

विश्वभरका क्याथोलिकहरुको आस्थाको केन्द्र नोट्रे डाम सोमबार राति निमेषभरमै खरानी भएको छ । नोट्रे डाम ८ सय ५० वर्ष पुरानो हो । नोट्रे डाम पेरिसको प्रमुख पर्यटकीय स्थल रहँदै आएको छ । पछिल्लो आठ दशकदेखि पेरिसको पहिचान बन्दै आएको छ । प्रसिद्ध लेखक भिक्टर ह्यूगोले यसै चर्चको नाममा सन् १८३१ मा ‘हञ्चब्याक अफ् नोट्रे डाम’ उपन्यास लेखेका थिए । जसलाई फ्रेन्च साहित्यको अति नै महत्वपूर्ण कृति मानिन्छ । यो भन्दा अगाडि अन्तिम पटक फ्रान्सेली राज्य क्रान्तिको बेला पनि यो चर्चमा क्षति पुगेको थियो ।


त्यतिबेला चर्च विरोधीहरुले त्यहाँ भएका सन्तहरुका मूर्तिलाई भत्काएका थिए । यो चर्चले फ्रान्सको बदलिएको इतिहास देखेको छ । ८० राजाहरुको राजतिलक, दुई साम्राज्यको राजपाट, पाँच गणतन्त्रको गठन र दुई विश्वयुद्धलाई झेलिसकेको छ । सन् ११६३ मा सुरु भएर यो चर्च निर्माण सम्पन्न गर्न १८० वर्ष लागेको थियो । हरेक वर्ष यहाँ २ हजारभन्दा बढी विभिन्न कार्यक्रमहरु आयोजना गरिँदै आइएको छ । यस्तो ऐतिहासिक धरोहर आगोले खरानी हुँदा पेरिसवासी मात्रै होइन, पूरा विश्व समुदाय नै स्तब्ध भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोट्रे डाम आगलागी घटनालाई विश्वकै एउटा दुस्खदायी घटना भएको बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँले चर्चमा आगो लागेपछि भावुक हुँदै भने, ‘पुरै देश जलिरहेको छ ।’ यो स्मारकलाई जलिरहेको देखेर कतिपयहरुका आँखा पनि रसाए चाहे ती आस्तिक हुन या नास्तिक । विश्वकै सबैभन्दा बढी घुमिने देश फ्रान्स हो । तर फ्रान्सको सबैभन्दा बढी घुमिने त्यहाँको स्मारक आइफेल टावर नभएर नोट्रे डाम भएको बताइन्छ । फ्रान्समा रहेका ९९ प्रतिशत टाउनहरुको जनसंख्या एकदिनमा नोट्रे डाम घुम्न जाने मानिसहरुको सङ्ख्या भन्दा कम भएको बताइन्छ । वर्षमा एक करोड तीस लाख पर्यटकले नोट्रे डामको प्रमुख द्वार पार गर्ने गर्छन् । यसअनुसार एकदिनमा नोट्रे डामले झण्डै ३५ हजारभन्दा बढी पर्यटकलाई स्वागत गर्छ । फ्रान्सका राष्ट्रपतिले नागरिकबाट चन्दा संकलन गरेर यो स्मारकलाई पुनर्निर्माण गर्ने भनेका थिए । तर फ्रान्सका एकजना अर्बपति फ्राँस्वा हेनरी पिनल्टले सोमबार राति स्मारकमा आगो लागेको घण्टाभित्रै आफू र आफ्नो परिवारले एक सय मिलियन युरो सहयोग गर्ने घोषणा गरेका छन् । उनले भनेका छन्, ‘यो फ्रान्सको सम्पत्ति हो । हाम्रो इतिहास बोकेको यस स्मारकलाई निर्माण गर्नु हाम्रो दायित्वय हो ।’ ०००००

Share.

Leave A Reply