शनिश्चरे बजारको व्यवस्थापनमा लागिपरेको अर्जुनधारा नगरपालिकाले वधशालासहितको कृषि मण्डी निर्माण गर्ने, नगर क्षेत्रमै उत्पादन भएका कृषिजन्य वस्तुले पनि बजार पाउने मेयर रानाको विश्वास

0

विर्तामोड, २ जेठ ।

झापा जिल्लाकै पुरानो बजार शनिश्चरे बजारको व्यवस्थापनमा लागिपरेको अर्जुनधारा नगरपालिकाले वधशालासहितको कृषि मण्डी निर्माण गर्ने निश्चित भएको छ । शनिबारे हाट सारिएको स्थान नजिकै कृषि मण्डी बन्ने भएको हो । प्रदेश सांसद वृख प्रधान, मेयर हरिकुमार राना, उपमेयर कमला खतिवडा आचार्य र पूर्व वन राज्यमन्त्री वीरमणि ढकालले आज कृषि मण्डी भवन निर्माणका लागि संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

कृषि मण्डी बन्ने निश्चित भएपछि नगरपालिकाले शनिश्चरे बजारको दिगोरुपमा व्यवस्थापन गर्ने, नगर्ने भन्ने द्विविधा पनि हटेको छ । व्यवसायीलाई अप्ठ्यारोमा पारेर नगरले भ्रम सिर्जना गर्न खोजेको आरोप पनि सहँदै आएको नगरपालिकाले भवन निर्माण गरेर दीर्घकालीन सोच बनाएको सन्देश प्रवाह भएको छ । शिलान्यास कार्यक्रममा बोल्दै मेयर रानाले कृषि मण्डीको निर्माणले अव्यवस्थित बजारको अन्त्य हुने दाबी गर्नुभयो । कृषि मण्डी बनेपछि दक्षिणी इलाममा उत्पादन हुने कृषिजन्य वस्तुको थोक बिक्री गर्न सकिने उहाँको भनाइ छ । अर्जुनधारा क्षेत्रमै उत्पादन भएका कृषिजन्य वस्तुले पनि बजार पाउने उहाँको विश्वास छ ।
दुई करोड ४० लाख रुपैयाँको लागतमा सात वटा ब्लक निर्माण गर्ने ठेक्का लागिसकेको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिनुभयो । उहाँका अनुसार शौचालयसहित कृषि र मासुजन्य वस्तुको बिक्रीका लागि व्यवस्थित भवन बनाइनेछ । व्यवस्थित वधशाला र कृषि मण्डी निर्माणका लागि केएम समता जेभी काठमाडौँले ठेक्का पाएको छ । ठेकेदार कम्पनीले ढिलोमा डेढ वर्षभित्र भवन हस्तान्तरण गरिसक्ने सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत भूर्तेलका अनुसार १ करोड ३० लाख प्रदेश सरकारले भवन निर्माणका लागि रकम उपलब्ध गराउनेछ । बाँकी रकम नगरपालिकाले व्यहोर्ने उहाँले बताउनुभयो । वधशालामा राँगा, संगुर, कुखुरा, खसीका लागि छुट्टा छुट्टै भवन बन्नेछन् भने कृषिजन्य उत्पादनका लागि पनि अलग्गै भवन निर्माण हुनेछ । यस्तै, करिब एक महिनादेखि व्यवस्थित बजारका लागि स्थानान्तरण गरिएको साप्ताहिक हाटका लागि पनि जग्गा खरिद गर्ने प्रक्रिया पनि अघि बढाएको बताइएको छ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार नगरले प्रक्रिया अघि बढाएको हो । ०००००००

Share.

Leave A Reply