श्रममन्त्री गोकर्ण विष्टद्वारा इलामका चिया मजदुरसंग भेटघाट, तोकिए बमोजिमको ज्याला तत्काल लागू गर्न उद्योगीलाई निर्देशन

0

इलाम, ३ जेठ ।

तोकिए बमोजिमको ज्याला तत्काल लागू गर्न श्रममन्त्री गोकर्ण विष्टले निर्देशन दिएपछि चिया श्रमिक काममा फर्किने भएका छन् । आज इलामस्थित कन्याम चिया बगानमा चिया श्रमिकसँग कुरा गर्दै उहाँले कानूनले तोकबमोजिमको ज्याला उपलब्ध गराउने बताउनुभएकाले श्रमिकहरू काममा फर्किने भएका हुन् । चिया श्रमिकको समस्या बुझ्न इलाम आइपुग्नुभएका मन्त्री विष्टले कानूनभन्दा माथि कोही नभएकाले जसरी पनि श्रमिकले नयाँ श्रम ऐन अनुसार ज्याला पाउनुपर्ने र ज्याला दिलाउन आफूसमेत प्रतिबद्ध रहेको बताउनुभएको थियो । त्यस लगत्तै चिया श्रमिक काममा निस्किने भएका हुन् । मन्त्री विष्टले चिया उद्योगीलाई तोकिएको ज्याला दिन नसक्नाको कारण २४ घण्टा भित्र उपलब्ध गराउन एक साताअघि निर्देशन दिनुभएको थियो । त्यसपछि इलाम तथा झापाका सरकारी तथा निजी बगानमा श्रमिक र उद्योगीबीच सहमति भएर श्रमिक काममा निस्किए पनि इलाम चिया बगान र सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगानका श्रमिक भने आन्दोलनमै थिए ।

साङ्घाई ग्रुपले भाडामा लिएका ती बगानमा श्रमिकले तोकिएको समयसम्म काम नगर्नाले ज्याला दिन नसकिने उद्योगीहरूले बताएकाले उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका थिए । तर, मन्त्री विष्टको भ्रमणपछि भने सबै चिया बगान खुल्ने भएका हुन् । चिया श्रमिक तथा अखिल नेपाल चिया मजदूर सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश रेग्मीका अनुसार सबै श्रमिक भोलिदेखि काममा निस्किने भएका छन् । सरकारले गत साउन १ देखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम दैनिक ज्याला ३८५ रुपैयाँ तोके पनि श्रमिकले २६५ देखि ३०८ रुपैयाँसम्म मात्र पाउँदै आएका थिए । उद्योगमा काम गर्ने श्रमिकलाई चाहिँ दैनिक ४२ रुपैयाँ थपेर ४२७ रुपैयाँ ज्याला तोकिएको छ । राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला ६ हजार ४६९ रुपैयाँ र महङ्गी भत्ता चार हजार ३८१ रुपैयाँ तोकिएको छ । तर, यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा ल्याउन माग गरिएको छ । ००००००

 

Share.

Leave A Reply