सन्दर्भ फागुन २१ ः वर्तमान सत्ता, कमरेड मनकुमार र डा. कुन्दनहरु

0

गणेश पोखरेल


फागुन २१ नेपाली कम्युनिष्ट आन्दोलनको सबैभन्दा महत्वपूर्ण दिन । आजको दिन अर्थात् २०२९ फागुन २१ गते कम्युनिष्ट क्रान्तिकारीलाई झापाबाट इलाम जेल सार्ने वहानामा तत्कालिन शासकले इलाम झापाको सिमावर्ती सुखानी जंगलमा पुर्याएर हत्या गरेको दिन हो । त्यही दिनको सम्झनामा २०३० सालदेखि सहिदको स्मृतिमा अनुयायीहरुले ती सहिदलाई स्मरण गर्ने र उनीहरुले देखाएको बाटोमा अविचलित ढंगले अगाडि बढ्ने प्रण गर्ने गरेका छन् । ती सहिदका सहकर्मी केपी शर्मा ओली अहिले नेपालको प्रधानमन्त्री हुनुहुन्छ । उहाँले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टीले अहिले स्थानीय तहदेखि प्रदेश र संघीय सत्तामा जनताबाट दुई तिहाई जनमत प्राप्त गरी शासन गरिरहेको छ । त्यसैले यो फागुन २१ गते केही लेख्नु सान्दर्भिक ठानेर लेख्तै छु ।
सहिद स्मृति दिवस मनाउने तयारीका लागि नेकपा झापाका नेता कार्यकर्ता अहिले खटिरहेका छन् । विहान रेडियोमा खबर पढेर निस्कँदै थिएँ । तत्कालिन नेकपा एमाले झापाका प्रचार विभाग प्रमुख माधव विद्रोहीले फोन गर्नुभयो । सहिद दिवसमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम र तयारीबारे नेकपाका केन्द्रीय सदस्य तथा १ नम्वर प्रदेश अध्यक्ष एवम् सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले सम्पर्क गर्न खोज्दै हुनुहुन्छ, फोन लागेन रे, भोलिको प्रचार बारे कुरा गर्नु है । मैले हुन्छ भनेर फोन काट्दै गर्दा कमरेड देवराज घिमिरेको फोन आयो । तयारी बारे सामान्य कुराकानी भयो । सुखानीको महत्व आजको पुस्तासम्म ल्याइपुर्याउन उहाँले मेची अञ्चलको इञ्चार्जको भुमिकामा रहँदादेखि गरेको कामको एउटा साक्षी म पनि हुँ । सुखानीका सहिदप्रति उहाँको जुन सम्मान छ, त्यो मैले कमै नेतामा पाएको छु । सुखानीको सन्दर्भमा कमरेड देवराज घिमिरेले भनेपछि मैले कुनै पनि वहाना बनाएर टार्न सक्तिन । हो, आज पनि त्यस्तै भयो । रेडियो भिजनमा भोलिको कार्यक्रमबारे सुचना बनाएर बजाएँ, भोलि अध्यक्षद्वयले गर्नु हुने सम्वोधनको लाइभ रिपोर्टिङ गर्ने व्यवस्था मिलाएँ । उहाँसँग कुरा हुनासाथ तत्कालिन एमाले झापाका अध्यक्ष चिन्तन पाठकले फोन गर्नुभयो तयारी बारे थप कुरा भयो । मैले नेकपा कार्यालय सचिव शिव ढुङ्गेलसँग कुरा गरेँ । तयारी तीब्र छ ।
मुलुकमा न्यायप्रेमी सर्वहारा श्रमजीवी जनताको राज्य सत्ता खडा गर्ने र सामन्ती राज्य सत्तालाई ध्वंश गर्ने महान उद्देश्यसहित अगाडि बढेको झापा संघर्ष नेपाली कम्युनिष्ट आन्दोलनमा सबभन्दा चर्चित र उल्लेखनीय घटना मानिन्छ । जब दमन र उत्पीडनले सीमा नाग्छ, तब आक्रोशको बाँध फुट्छ र विद्रोह हुन्छ । झापाको किसान विद्रोह पनि नेपाली जनतामाथि लादिएको सामन्ती शोषण, उत्पीडन र दमनविरुद्धको प्रतिरोधको एउटा रुप थियो । बुट र बन्दुकले टिकाएको सत्ता नारा जुलुस र सभा गरेर मात्र ढल्दैन बन्दुक नै उठाएर ध्वंश गर्नुपर्छ भन्ने नीतिका आधारमा सञ्चालन गरेको आन्दोलन थियो– झापा विद्रोह ।


‘सामन्तलाई नगिंडे, सैनिकसँग नभिडे, आउँदैन है जनवाद झोली थापेर’ भन्ने उद्घोषका साथ २०२८ सालमा विष्फोटक बनेको झापाको किसान विद्रोहलाई दमन गर्ने सिलसिलामा झापाका होनाहार कम्युनिष्ट योद्धाहरु पाँच जनाको इलाम झापाको सीमावर्ती सुखानीमा २०२९ फागुन २१ गते हत्या भयो । तेह्रथुम जिल्लाको आठराई इवा भदौरेमा जन्मिनु भएका रामनाथ दाहाल २०१७ सालमा झापाको चारपानेमा स्थायी बसोबास गर्न आउनुभयो । सानैदेखि अन्याय र अत्याचारका विरुद्ध सतिसालझैँ ठिङ्ग उभिने रामनाथ जहाँ किसानलाई अन्याय हुन्थ्यो, त्यहाँ आफैँ पुगी धानकाट्नेदेखि लिएर भित्र थन्क्याउने समेत काम गर्नुहुन्थ्यो । खास गरेर मोहीहरुको कुटिन लागेको धानको संरक्षण गर्ने काम त्यो समयमा कम्युनिष्ट क्रान्तिकारीहरुको पहिलो काम थियो । सामन्तहरुले यसैलाई प्रमुख विषय बनाई २०२६ सालमा रामनाथविरुद्ध मुद्दा हाले । २०२७ बैशाखमा उहाँलाई गिरफ्तार गरियो र ३ महिना जेल बस्नु पर्यो । त्यतिबेला आम किसानको जुलुसले साउन महिनामा उहाँलाई जेलबाट निकालेर अविर फूल र मालाले स्वागत गर्दै घर लिएर आएको थियो । २०२९ फागुन २८ गते विहीबार राजनीतिक कामकै सिलसिलामा एउटा बैठक सकेर आउँदै गर्दा उहाँलाई गिरफ्तार गरियो ।
झापा संघर्षका अर्का क्रान्तिकारी योद्धा नेत्र घिमिरेको जन्म २००३ सालमा तेह्रथुमको आठराईमा भएको थियो । विद्यालयको पढाइ सकेर क्याम्पस पढ्ने सोचका साथ तेह्रथुमबाट झापा झर्नु भएका घिमिरे २०२४ सालमा मेची क्याम्पस भर्ना हुनुभएको थियो । क्याम्पस भर्ना भएपछि प्रगतिशील विद्यार्थी आन्दोलनमा होमिनु भएका घिमिरेले देश र जनतामाथि लादिएको पञ्चायती बर्बरता, सामन्ती शोषण र उत्पीडनलाई समाप्त नपारेसम्म कसैको पनि सुदिन नआउने देखेपछि २०२६ सालमा क्याम्पसको पढाइ छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता बन्नु भएको हो । ‘वर्ग सत्रु खत्तम गर’ अभियानका अभियन्ता घिमिरेलाई २०२९ पुस १४ गते पक्राउ गरी ३ महिनासम्म कठोर यातना दिएर हत्या गरियो ।


२००२ सालतिर झापाको ज्यामिरगढीमा जन्मनु भएका वीरेन राजवंशीले २०२६ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रियता दिनु भएको हो । झापाली जनताको बीचमा प्रतिष्ठित र आदरणीय व्यक्तित्वको रुपमा स्थापित र चर्चित बन्नु भएका वीरेनले २०२८ सालको झापा किसान विद्रोहमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । जनता आफैँ संगठित बन्नु पर्छ र आफ्नो मुक्तिका लागि प्रतिक्रियावादीहरुसँग मुकाविला गर्नुपर्छ भन्ने मान्यता राख्नुहुने वीरेन संसार बदल्ने एक मात्र हतियार माक्सवाद हो र यो हतियारले सुसज्जित भएको योद्धा मात्र संघर्षमा टिक्न सक्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्थ्यो ।
२०११ कात्तिक ११ गते झापाको गरामनी गाउँको किसान परिवारमा जन्मिनु भएका कृष्ण कुइँकेल नेपाली जनताको मनमा सदैव रहिरहने नाम हो । नेत्र घिमिरेसँगको सरसंगत र प्रेरणाले कलिलै उमेरमा परिवर्तन र प्रगतिको पक्षमा लड्ने उद्देश्यका साथ राजनीतिमा लाग्नु भएका कुइँकेल गरामनी हाइस्कूलमा अध्ययन गर्दागर्दै २०२७ सालदेखि नै नेपाल कम्युनिष्ट पार्टीमा संगठित हुनु भएको हो । २०२९ माघ १ गते भूमिगत जीवनबाटै उहाँ पक्राउ पर्नु भएको थियो ।
झापाको उच्चमध्यम परिवारमा जन्मिएर हुर्किनु भएका नारायण श्रेष्ठ कृष्ण कुइँकेलका अत्यन्तै मिलनसार मित्र हुनुहुन्थ्यो । विद्यालयदेखि नै राजनीतिक गतिविधिमा सक्रिय हुनुभएका नारायण सर्वहारा श्रमजीवी जनताको राज्यसत्ता खडा गर्ने उद्देश्यका साथ क्रान्तिमा होमिनु भएको थियो ।
भिन्नभिन्न समयमा भिन्नभिन्न स्थानबाट पक्राउ पर्नु भएका झापाको किसान आन्दोलनका अभियन्ताहरुलाई २०२९ फागुन २१ गते झापा जेलबाट इलाम जेल सार्ने बहानामा झापा इलामको सीमावर्ती सुखानीमा पुर्याएर तत्कालीन शासकहरुले हत्या गरे । भौतिक रुपले रामनाथ, नेत्र, वीरेन, कृष्ण र नारायणलाई राज्यसत्ताले समाप्त गरेको भए पनि उहाँहरुको विचार अहिले पनि जनताको मनमस्तिष्कमा बसेको छ । प्रत्येक वर्ष फागुन २१ को सेरोफेरोमा उहाँहरुको योगदान र मुलुकी अवस्थाका बारे चर्चा हुने गरेको छ । त्यति मात्र होइन, उहाँहरुले देखाउनु भएको बाटोमा अविचलित ढंगले अगाडि बढ्नका लागि मुलुकभर लाखौँ जमात तयार भइसकेको छ । २०२८ सालको झापाको किसान विद्रोह मुलुकी रुपान्तरणका लागि कोशेढुंगा हो भन्नेमा अहिले कसैको दुईमत छैन ।
अहिले तिनै सहिदहरुका सहयोद्धा मुलुकको राज्यसत्ता सञ्चालनको तहमा छन् । रामनाथ, नेत्र, वीरेन, कृष्ण र नारायणका सहकर्मी केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँले तत्कालिन एमाले, माओवादी र कांग्रेसले छुट्टा छुट्टै रहँदा बहुमतको सरकार बन्न कठिन देखेर दुई कम्युनिष्ट एमाले र माओवादीको एकीकरण गराउनुभयो । समृद्ध नेपाल, सुखी नेपाली अभियान सञ्चालन गरिरहनु भएको छ । चीनसँग पारवहन सन्धि, भारतसँग समकक्षीको हैसियत कायम, रोजगारीका अवसर सिर्जना, सामाजिक सुरक्षा कोषको व्यवस्था जस्ता आफुले युवा अवस्थामा देखेका सपना पूरा गर्ने काममा मुलुकलाई तीब्र विकास गराउने योजनामा हुनुहुन्छ । तर, यहाँ मैले स्मरण गर्नैपर्छ, कमरेड केपी शर्मा ओलीले बुटबल महाधिवेशनमा अध्यक्ष जित्न सक्नु भएन । झापामा प्रेस चौतारीको अध्यक्ष माधव विद्रोही हुनुहुन्थ्यो । प्रेस चौतारीको बैठकले कमरेड केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर द्रोणचार्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार शिव गाउँलेलाई प्रदान गर्ने निर्णय गर्यो । पार्टीमा हर्ताकर्ता कमरेड मनकुमार गौतम हुनुहुन्थ्यो । उहाँले माधव दाइलाई कसको आदेशले केपी ओलीलाई बोलाएको म कार्यक्रममा आउँदिन भनेर सातो लिने गरी हप्काउनुभयो । माधव दाइले तपाईंलाई कसले बोलाएको छ र ? के तपाईं नआए यो कार्यक्रम हुँदैन ? के केपी शर्मा ओली एमालेको नेता होइन ? यस्ता कुरा अरुसँग गर्नु मसँग चल्दैन भनेर उल्टो थर्काएर हिँड्नुभयो । पछि कमरेड केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । तत्कालिन केही एमालेका नेताले आफ्ना आसेपासेलाई रोक्ने प्रयास पनि गरे तर सफल भएनन् ।
अर्को एउटा फागुन २१ को प्रसंग म कहिल्यै भुल्न सक्तिन । वुटबल महाधिवेशन पछि कै कुरा हो, फागुन २१ गते केपी शर्मा ओली सहिद दिवसमा झापाको सुखानी आउँदै हुनुहुन्थ्यो । लीला वराल र म सुखानीमा रिपोर्टिङका लागि जाने तयारीमा थियौं । काठमाडौं बस्ने ठुला पत्रकार कुन्दन अर्याल विर्तामोड आएर लीला दाइलाई फोन गर्नु भएको रहेछ । लीला दाइले लालिगुराँस होटलमा कुन्दनलाई भेटेर जाऔं, ओली पनि आइसक्नु भएको छैन भन्नुभयो । मैले लीला दाइको कुरा नमान्ने कुरै भएन । हामी एमाले कार्यकर्ता गोपी गिरीले सञ्चालन गरेकोे शनिश्चरे रोडको लालिगुराँस होटल गयौं । उहाँहरुबीच कुरा भयो । हामी होटलको बाहिर माथि बरण्डामा थियौं । वरण्डाबाट कमरेड ओली लगायतको सानो समुह २–३ वटा सानो गाडीमा उँभो लाग्यो । मैले दाजु अब हामी पनि जाऔं भने । लीला दाइ उठ्न खोज्दै हुनुहुन्थ्यो । हालका डाक्टर कुन्दन अर्यालले हेर यति मान्छे लगेर ओलीले आफ्ना कुरा सुखानीको जंगलमा बाँदरलाई सुनाउने भए । मान्छे त सकिए अब । विचराले बाँदरलाई नै सुनाउनु पर्ने भयो नि भन्नुभयो । मैले एमालेकै पत्रकार भनेर श्रद्धा गरेको मान्छेले भनेको कुरा प्रतिवाद गर्ने अवस्थामा म थिइँन । तर, मन अमिलो भयो । मैले लीला दाइसँग दिनभर त्यही विषयमा कुरा गरेँ । बेलुका समाचार लेख्यौं । भोलिपल्ट पनि दिनभर सबै मिडियामा उहाँले सुखानीमा भन्नु भएको कुरा प्रमुख समाचार बन्यो । अनि मैले लीला दाइलाई भने दाजु अब त सहरमा भएका बाँदरले पनि सुने होला नि ।
यस्ता थुप्रै प्रसंग छन्, फागुन २१ सँग जोडिएका । यि प्रतिनिधि घटना हुन् । केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि विर्तामोडको अग्रसेन भवनमा एउटा कार्यक्रम भयो । कमरेड मनकुमारले हामीलाई त प्रधानमन्त्री भएतिर जान रोक्न पो थाल्नुभयो । यसो कमरेड मनकुमारको मुखमा हेरेको अनि मात्र जान पाइयो । प्रधानमन्त्रीका विभिन्न कार्यक्रमबारे डा. कुन्दन अर्यालले जानकारी दिनुभयो भनेर समाचर लेख्नु पढ्नु पर्छ । मलाई यस्तो लाग्छ, जनाताले अपेक्षा गरेको कुरा अहिले सरकारले गर्न सकेन भनेर आलोचना हिजो कमरेड कुन्दन र मनकुमारले समर्थन गरेका साथीका मुखबाट सुन्दा लाग्छ, कतै उहाँहरुले नै त कमरेड केपी र उहाँका सहकर्मी रामनाथ, नेत्र, वीरेन, कृष्ण तथा नारायणले हिजो देखेको सपना आज पनि पूरा गर्न नदिनु भएको त होइन ।
मलाई अर्को आरोप लाग्न सक्छ, सत्ताको स्वाद आफुले पाएन अनि अरुको विरोध गर्छ भन्ने आक्षेप लाग्न सक्छ । म प्रष्ट भन्छु झापाको विर्तामोडमा दुई वटी छोरी पढाउन र घर खर्च चलाउन मासिक एक लाख रुपैयाँ नभई पुग्दैन । सत्ताको नियुक्तिमा ५० हजार रुपैयाँ भन्दा बढी हुँदैन । दायाँवायाँ गरेर कमाउनु भन्दा विहान साढेचार वजेदेखि राति साढेएघार वजेसम्म काममा जोतिन्छु । यसैमा सन्तुष्ट छु । नभए पान दोकान भए नि गरौंला । तर, मेरो दोकान चल्ने वातावरण, मेरो दोकान अघिको बाटो बनाउने काम सरकारले गर्ने हो, त्यो मेरा लागि मात्र होइन, सबै नागरिकका लागि हो । मलाई एउटा सर्वसाधारण नागरिकले राज्यबाट जे चाहेको छ, त्यही भए पुग्छ । तलव कुन्दन दाइहरुलाई दिए हुन्छ तर काम उहाँहरुबाट अर्थात् उहाँहरुको प्रवृत्तिबाट रोकिनु हुँदैन । समृद्ध नेपाल, सुखी नेपालीका लागि एउटा जनताको तर्फबाट गर्ने भुमिकामा कुनै कसीमा कमजोर हुने छैन । फागुन २१ को यो दिनमा सुखानीका सहिदहरुप्रति लालसलाम ।  ०००००

Share.

Leave A Reply