सरकारको कर नीतिले अब रोटीको भाउ बढ्ने

0

विर्तामोड, २४ जेठ ।

आगामी आर्थिक वर्षको बजेटमा गहुँको पिठोमा मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयले ३८ वटा स्वदेशी मैदा उद्योग जोखिममा पर्ने नेपाल मैदा उद्योग संघको दाबी छ । बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै संघले सरकारको यस किसिमको नीतिले भारतबाट आउने मैदा÷आटासँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको जनाएको छ ।

 

स्वदेशमै आत्मनिर्भर भइसकेको आटाजस्तो खाद्य वस्तुमा यसरी करको भार थपि दिँदा आयातले प्रोत्साहन पाउने संघको भनाइ छ । संघले अगाडि भनेको छ– ‘सरकारले देश अब खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरे पनि व्यवहारमा नदेखिएको कारण स्वदेशी उद्योगले अब थप चुनौतिको सामना गर्नुपर्ने हुँंदा मैदा उद्यमीहरु निरुत्साहित बनेका छन् ।

 

सरकारी नीतिका कारण अबका केही वर्षमा खाद्य उद्योगहरु धमाधम बन्द गर्नुको विकल्प छैन ।’ करोडौको लगानी गरेर उद्योग स्थापनामा जोखिम लिनुभन्दा ट्रेड व्यापारले प्रोत्साहन पाउने भएको छ । जसले गर्दा भोलिका दिनमा नेपाल पूर्णरुपमा कृषि खाद्य वस्तु आयात देश बन्ने निश्चित रहेको भन्दै संघले न्यून आयस्तर भएका जनताको दैनिक खाद्यान्नको रुपमा खाने आटाजस्तो संवेदनशील खाद्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाउँदा करको भार उद्यमीमा मात्र नभएर उपभोक्तामा समेत पर्ने हुँदा पुनर्विचार गर्न संघले सरकारसँग माग गरेको छ । मूल्य अभिवृद्धि करकै कारण अब आटाको मूल्य लगभग प्रतिकिलो ५ रुपैयाँदेखि ६ रुपैयाँसम्म बढ्ने संघको भनाइ छ । ००००००

Share.

Leave A Reply