सहारा साकोसले विक्रम संम्वत २०८० सम्ममा आफ्ना सबै सेयर सदस्यलाई सबै उपचार निःशुल्क गर्ने प्रमुख कार्यकारी गिरीको घोषणा, स्थानीय तहसँगको सहकार्यमा विपन्न आवास कार्यक्रमलाई पनि व्यापक बनाउने तयारी

0

विर्तामोड, २३ चैत ।

झापाको चारपानेमा केन्द्रीय कार्यालय रहेको सहारा नेपाल साकोसले विक्रम संम्वत २०८० सम्ममा आफ्ना सबै सेयर सदस्यलाई सबै उपचार निःशुल्क गर्ने महत्वकांक्षी घोषणा गरेको छ । सहारा साकोसको २३ औं वार्षिक उत्सव सप्ताह अन्तर्गत आज विर्तामोड सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा कार्यकारी प्रमुख महेन्द्र गिरीले सो जानकारी दिनु भएको हो । स्थानीय तहसँगको सहकार्यमा सहाराले विपन्न आवास कार्यक्रमलाई पनि व्यापक बनाउने तयारी गरेको प्रमुख कार्यकारी गिरीले जानकारी दिनुभयो ।

विर्तामोडका उपमेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विर्तामोड सेवा केन्द्रमा आवद्ध सफल उद्यमी विर्तामोड– ७ खालवाडी निवासी बाख्रा पालक उद्यमी सुशीला आचार्य र विर्तामोड– ३ मेगावारी निवासी थुक्पा उद्यमी द्रोपदी राजवंशीलाई नगदसहित सम्मान समेत गरिएको छ । उहाँहरु विगत १० वर्षदेखि सहारा साकोसको लघुवित्त कार्यक्रममा सहभागी भई सफल उद्यमी बन्नु भएको हो । कार्यक्रममा विर्तामोड– ५ का अध्यक्ष राजेन्द्र लिङदेन लगायतका बक्ताले सहारा साकोसले स्थानीयको जीवनस्तर उकास्न गरेको योगदानको चर्चा गर्नु भएको थियो । अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षता र सेवाकेन्द्र सहयोग समिति संयोजक रामप्रसाद रोकाले सञ्चालन गरेको कार्यक्रममा विर्तामोड सेवा केन्द्र प्रमुख घनश्याम रायले विर्तामोड सेवाकेन्द्रको गतिविधि बारे जानकारी दिनु भएको थियो । सो अवसरमा विर्तामोड क्षेत्रकै सबैभन्दा बढी २०३ जना सहारा साकोस आवद्ध तथा शुभेच्छुकले रक्तदान गर्नुभएको सेवा केन्द्र प्रमुख रायले जानकारी दिनुभयो । ००००००

 

Share.

Leave A Reply