साफ महिला च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने, भारतद्वारा श्रीलंका ५–०.गोलले पराजित

0

विर्तामोड, ३ चैत ।

साफ महिला च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने भएको छ । समुह बीको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५–० गोलले हराएपछि नेपालले श्रीलंकालाई प्रतिद्वन्द्वी पाएको हो । शहीद रंगशाला विराटनगरमा आज भएको खेलमा भारतले सुरुवातदेखि नै श्रीलंकाको पोष्टमा आक्रमण गरेको थियो । जसका कारण उसले सात मिनेटभित्रमा नै दुई गोल गर्न सफल भयो । खेलको चौथो मिनेटमा ग्रिस डाङमेको गोलमा भारतले अग्रता बनायो । प्रतियोगिताको उनको यो दोस्रो गोल हो । त्यसपछि सातौ मिनेटमा भारतले दोस्रो गोल गर्यो । उसका लागि सन्ध्या रंगनाथनले गोल गर्न सफल भइन् । त्यसपछि पनि भारतले आफ्नो आक्रमणलाई कायमै राख्यो । २१ औं मिनेटमा भारतको डरलाग्दो मौकालाई श्रीलंकाकी गोलकिपर विजयरत्नाले बचाइन् । २५ औ मिनेटमा भारतको अर्को प्रहारलाई श्रीलंकाको डिफेन्सलाइनले बचायो । त्यसपछि खेलको ३६ औं मिनेटमा इन्दुमतीले गोल गर्दै भारतलाई तीन शून्यको अग्रता दिलाइन् । ४२ औं मिनेटमा भारतले पेनाल्टीको अवसर पायो । भारतकी सञ्जुको प्रहार रोक्ने क्रममा श्रीलंकाली खेलाडीले हातले बल छोएपछि पाएको पेनाल्टीलाई संगिताले गोल गर्दै टिमलाई पहिलो हाफमा चार शून्यको अग्रता दिलाइन् । पहिलो हाफमा चार गोलको अग्रता बनाएको भारतले दोस्रो हाफको सुरुवातमा नै पाँचौ गोल र्गयो । ४६ औं मिनेटमा रतनबालादेवीले गोल गर्न सफल भइन् । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र भारत समूह बी बाट विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । हारपछि पनि उपविजेता बनेको श्रीलंकाले सेमिफाइनलमा बुधबार नेपालसँग र भारतले बंगलादेशसँग खेल्ने छन् । ०००००००

Share.

Leave A Reply