१ नम्वर प्रदेशमा वामगठबन्धन र राप्रपाबीच चुनावी तालमेल हुने संभावना, झापाको ३ नम्वर क्षेत्र राप्रपालाई दिने तयारी

0

झापा, १३ कात्तिक । झापा क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिने विषयमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहमति बन्न नसकेपछि १ नम्वर प्रदेशमा वामगठबन्धन र राप्रपाबीच चुनावी तालमेल हुने संभावना बढेको छ । झापा क्षेत्र नम्बर–३ बाट राप्रपाले महामन्त्री राजेन्द्र लिङदेनलाई उठाउने तयारीसहित कांग्रेस गठबन्धनमा १ नम्वर प्रदेशमा जम्मा त्यही क्षेत्र मात्र मागेको थियो । तर, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालेसमेत उक्त क्षेत्र नछोड्ने अडान राखेपछि १ नम्वर प्रदेशमा एमाले, माओवादी र राप्रपाबीच चुनावी तालमेल हुने अवस्था सिर्जना भएको हो । कांग्रेसले केही साताअगाडि सिटौलाको नामलाई समानुपातिकको अग्रस्थानमा राखेको भए पनि पछिल्लोपटक उहाको नाम समानुपातिकबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने निर्णय गरेको छ ।


एमाले र माओवादीका शीर्ष नेताबीच १ नम्वर प्रदेशमा झापाको क्षेत्र नम्वर ३ राप्रपालाई दिने विषयमा छलफल चलिरहेको छ । झापाको हल्दिवारी गाउँपालिका अध्यक्ष तथा राप्रपाका युवा नेता रविन्द्र लिङदेनले पार्टी अध्यक्ष कमल थापालाई सरकार छोड्न आग्रह गर्दै फेसबुकमा स्टाटस पोष्ट गर्नु भएको छ । झापा ३ कै कारण राप्रपा सरकारबाट समेत बाहिरिने अवस्थामा पुगेको छ । राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षतर्फ एक सिट जित्नै पर्ने कानुनी व्यवस्थाले राप्रपा दवावमा छ । संविधानसभाको दोस्रो निर्वाचनमा झापा ३ मा राप्रपा महामन्त्री लिङदेन निकटतम् प्रतिद्वन्द्वी हुनुहुन्थ्यो । राप्रपाले मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये झापा ३ आफ्ना लागि अनुकुल ठानेको छ । स्थानीय तहको निर्वाचनमा समेत सो क्षेत्रका २ वटा गाउँपालिकामा प्रमुख पद राप्रपाले जितेको छ ।

Share.

Leave A Reply