झापा, ८ असार ।
नेपाली राजनीतिमा ठूलो महत्व राखेको झापामा स्थानिय तहका उमेद्वारलाई जिताउन सबै पार्टीको शक्ति अहिले केन्द्रित भएको छ । चुनाबी गतिबिधी बढे सँगै असार १४ गते हुने निर्बाचनका लागि सबै जसो दलका केन्द्रिय नेता झापामा आएर सम्बोधन गरिरहेका छन् । उमेद्वार चयनमा पनि पर्ख र हेर को निती लिएका दलहरुले उमेद्वारी घोषणा सँगै राजनीतिक शक्ति पनि झापामा केन्द्रित गरेका हुन् । तीन दिन अघि झापा आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाका दर्जन भन्दा बढि चुनाबी सभालाई सम्बोधन गरिसक्नुभएको छ । एमालेले आर्थिक समृद्वि, सामाजिक सुरक्षा र राष्ट्रियतालाई चुनाबी एजेण्डा बनाएको छ । झापा ओलीको गृहजिल्ला भएकाले पनि प्रतिष्ठा जोगाउन एमालेले हदै सम्मको रणनीति अपनाएको छ ।

आज भद्रपुरको ज्ञानेचोकमा आयोजित सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशजको नागरिकता प्रदान गर्न एमाले तयार रहेको बताउनु भएको छ । उहाँले एमालेलाई मधेश विरोधी भनेर प्रचार गरिएको भन्दै त्यसलाई पुष्टी गर्न चुनौती दिनु भएको छ । मधेशको विकासका लागि एमाले नेतृत्वको सरकारले छुट्याएको विकास रकमबारे चर्चा गर्दै जनप्रतिनिधि छान्दा होस नर्पुयाले विकास हुन नसक्ने बताउनु भयो ।
त्यसैगरी कांग्रेसले पनि केन्द्रिय नेतालाई झापामा परिचालन गरेको छ । उसका प्रभावसालि नेता कृष्ण प्रसाद सिटौला र गगन थापा एक हप्ता देखि झापामै रहेका छन् । दिगो बिकास र सुसाशनको मुख्य एजेण्डा बनाएर झापाका टोल-टोलमा समेत केन्द्रिय नेताले सम्बोधन गरिसकेका छन् ।
यस्तै माओबादी केन्द्रले समेत झापामा जित निकाल्ने रणनीति अपनाएको छ । दोस्रो संबिधान सभाको निर्बाचनमा लज्जास्पद हार बेहोरेको माओबादीले यो पटक त्यसलाई चिर्ने सोच बनाएको छ । उसले पनि अहिले प्रभाबशाली नेता राम कार्कीलाई झापाका टोल-टोलमा चुनाबी सभाका लागि पठाएको छ । सिहंहदरबारको अधिकार घर आँगनमै र्पुयाउने नाराका साथ चुनाबमा होमीएको माओबदीले घर दैलो अभियानलाई तिब्रता दिएको छ । चुनाबी प्रचारकै लागि माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यहि असार १० गते झापा आउने कार्यक्रम रहेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्ना एजेण्डा सहित केन्द्रिय नेता झापामै परिचालन गरेको छ । उसका २ जना केन्द्रिय सदस्य बिर्तामोड र दमकमा मेयर पदका उमेद्वार रहेका छन् । महामन्त्री राजेन्द्र लिङदेन अन्त नगइ झापाकै टोल-टोलमा सम्बोधन गरिरहनुभएको छ । उसको प्रमुख एजेण्डा हिन्दु धर्म र संबैधानिक राजतन्त्र रहेको छ ।
त्यसैगरी अन्य साना दलले पनि झापामा केन्द्रिय दृष्टि लगाएका छन् । नेकपा मालेका महासचिब सिपी मैनाली झापामै रहेर चुनाबी प्रचारमा व्यस्त हुनुहुन्छ । २० बर्षपछि हुन लागेको स्थानिय तहको निर्बाचनलाई यहाँका जनताले समेत महत्वका साथ लिएका छन् । हरेक पार्टीका गतिबिधिमा जनताको उल्लेख्य सहभागिता रहेको देखिन्छ । झापालाई शक्ति केन्द्र मानेर केन्द्रिय नेतृत्व लागी पर्नुले पनि जनतामा उत्साह जागेको हो ।