झापा, १२ असार ।
अर्जुनधारा नगरपालिका वडा नं. ३ का ७२ बर्षीय युवनाथ पौडेलले निर्वाचन आयोगको गल्तीका कारण आफु मतदान गर्नबाट बञ्चित भएको गुनासो गर्नु भएको छ । आज मतदाता परिचय पत्रका लागि फोटो खिचाएको रसिद लिएर अर्जुनधारा नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएका पौडेलले आफुले चन्द्रगढी स्थित निर्वाचन कार्यालयमा नै फोटो खिचाएको तर अहिले मतदाता नामावलीमा नाम नआएकोले आफुलाई मतदान गर्ने ब्यवस्था मिलाई दिन आग्रह गर्नु भएको छ । तर, मतदाता नामावलीमा नै नाम नभए पछि मतदान गर्न नमिल्ने कानूनी ब्यवस्था भएकाले पौडेल अन्यायमा नै पर्नु भएको देखिए पनि मतदान गर्न दिन सकिने अवस्था नरहेको अर्जुनधाराका निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले बताउनु भयो ।

जेठा छोरा कुलप्रसाद पौडेलको अर्जुनधारा वडा नं.३ बाट नगरपरिषद सदस्यमा उम्मेद्वारी छ, तर आफुले भोट हाल्न नपाएकोले निर्वाचन आयोगले अन्याय गरेको भवनाथ पौडेलले सञ्चारकर्मीहरुलाई बताउनु भयो । पौडेलका माईला छोरा नेत्रप्रसाद पौडेलको पनि मतदाता नामावलीमा नाम नभेटिएको तर परिवारका अन्य सदस्य भने नाम रहेको बताउँदै आयोग बिरुद्ध कानूनी उपचार खोज्ने पनि पौडेलले बताउनु भयो । पौडेलले साबिक खुदुनाबारी वडा नं. ४ मा १० बर्ष वडा अध्यक्षको रुपमा काम गरिसक्नु भएको छ ।