झापा, ६ असार ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग नीतिगत टक्कर लिने कुनै शक्ति नभएको वताउनु भएको छ । गृहजिल्ला झापाका चुनावी कार्यक्रममा सक्रिय रहनु भएका ओलीले एमालेका एजेण्डाको विरोध गर्नु र फेरि त्यसैको नक्कल गरेर घोषणा पत्र छाप्ने वाध्यतामा अन्य पार्टीहरु रहेको ओलीले वताउनु भएको हो ।

दमक चोकमा दिउसो भएको बृहद जनसभालाई सम्बोधन गर्दै ओलीले स्थानीय विकास निर्माण सम्बन्धी पार्टीका योजना प्रस्तुत गर्नु भएको छ । उहाले झापामा नदि नियन्त्रण, सुकुम्बासी समस्या समाधान लगायतका विषयमा एमालेका योजना अघि सार्नु भएको छ ।
आफूले नेतृत्व गरेको एमाले सरकारले हुलाकीमार्गका लागि ४ अर्व २० करोड छुट्याएको र त्यसले स्थानीय सडकको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने वताउनुभयो । ओलाङचुङ्गोला र किमाथाङकाबाट चीन जोड्ने सडक बन्ने र त्यसले अन्तर्राष्ट्रिय पारवहन क्षमता विस्तार गर्ने पनि वताउनु भएको छ ।
‘नीतिमा हामीसँग टक्कर लिने कुनै शक्ति वा पार्टी छैन, हामीले देशलाई आन्तरिक र बाह्य रेल सञ्जालले जोड्ने कार्यक्रम ल्यायौं’ ओलीले भन्नुभयो, ‘त्यसको खपिनसक्नुगरी विरोध गरे । पछि यो त नगरी नहुने रहेछ भन्ने लागेर अरु पनि भन्नका लागि रेल भन्न थाले ।’ उहाले देशमा लोकतन्त्र, राष्ट्रिय एकता र समृद्धि नचाहिने भए मात्र एमाले नचाहिने तर्क गर्नु भएको छ ।