भरतपुर १९ को मतदान वा मतगणनाबारे आज सर्वोच्चले निर्णय दिने

0

 

काठमाडौं, ६ असार ।

चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाई हुँदैछ ।
फेरि चुनाव गर्ने आयोगको निर्णय खारेजीको माग गर्दै परेको मुद्दामा मंगलबार कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे सुनुवाई हुँदैछ ।


सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न रिट निवेदक र विपक्षी बनाइएका निर्वाचन आयोग तथा नेपाल सरकारलाई बोलाएको छ ।
१९ नम्बर वडाका एमालेका वडा सदस्य उम्मेदवार गुञ्जमान विकले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै गएको जेठ २२ गते सर्वोच्चले अर्को आदेश नभएसम्म निर्वाचनको कार्यक्रम अघि नबढाउन आदेश दिँदै अन्तरिम आदेशबारे छलफल गर्न जेठ २८ गते बोलाएको थियो ।
तर त्यस दिन र ३० गतेका लागि तोकिएको पेशीमा सुनुवाई गर्न नभ्याएपछि मंगलबारका लागि लागि तोकिएको थियो । मंगलबार कायममुकायम प्रधानन्यायाधीश गोपाल र न्यायाधीश हरिकृष्ण कार्कीको पूर्ण इजलासको पहिलो नम्बरमा पेशी तोकिएकाले अन्तरिम आदेशबारे टुंगो लाग्नेछ ।
मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । निर्णय लगत्तै सर्वोच्चले आदेश दिएकाले निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन ।

Share.

Leave A Reply