मोरङ मिक्लाजुङको चुली पोखरीको प्रचारप्रसार र प्रवद्र्धनको प्रयास सुरु

0

विर्तामोड, २९ कात्तिक ।

आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवद्र्धनको प्रयास सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा त्यस क्षेत्रका प्रदेशसभा सांसदको संयुक्त पहलमा उक्त पोखरीको विकास, संरक्षण र प्रवद्र्धनको सुरु भएको हो ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको चुली पोखरी पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा छ । घनाजंगलले ढाकेको चुली पोखरी ‘डब्लु’ आकारको ठूलो चट्टानको शीरमा झण्डै दुई बिघा क्षेत्रमा फैलिएको छ । सो क्षेत्रमा सडक, विद्युत् र खानेपानीको अभाव छ ।
पोखरीको संरक्षण तथा प्रवद्र्धनका लागि प्रदेश सरकारको पहलमा आफूहरुले काम गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताउनुभयो । चुली पोखरी क्षेत्रमा ३५ घर रहेका छन् । धार्मिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण स्थानको रुपमा परिचित चुली पोखरीको संरक्षण सुरु भएपछि स्थानीयहरु खुसी भएका छन् ।
प्रदेश १ सरकारले आर्थिक वर्ष २०७५–७६ मा छुट्याएको चार लाख रुपैयाँले पोखरीलाई घेराबारा गरिएको छ । चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारको सहयोगमा सडक निर्माणदेखि सिंढी निर्माणको काम सुरु गरिएको वडा नम्बर २ का अध्यक्ष गौरीप्रसाद राईले बताउनुभयो । पोखरी उर्लाबारीको किसान चोकदेखि १५ किलोमिटर उत्तरमा अवस्थित रहेको छ । ००००००

Share.

Leave A Reply