गौरादह नगरपालिकाको वडा कार्यालय अगाडि फोहोरको डङ्गुर

0

विर्तामोड, २९ कात्तिक ।

गौरादह नगरपालिकाले चालु आर्थिक वर्षमा डम्पिङ साइट निर्माणका लागि बजेट छुट्याए पनि कहाँ बनाउने भन्ने टुंगो लागेको छैन । स्थानबारे छलफल भए पनि यकिन हुन नसक्दा बजेट कार्यान्वयनमा ढिलाई भएको हो । नगरको बजार क्षेत्रबाट संकलन हुने फोहोर फाल्ने उचित स्थानको अभावमा हाल वडा नम्बर १ को वडा कार्यालय अगाडि नै फोहोर फाल्ने गरिएको छ । वडा कार्यालय अगाडि तथा गौरादहका पहिचानका रुपमा रहेका पोखरीको डिलैमा फोहोर फाल्ने गरिएको हो । नगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारीले चाँडै फोहोर फाल्ने स्थानको टुंगो गरिने बताउनुभयो । यसका लागि नगरपालिकाकै जुरोपानीमा नगरपालिकाको स्वामित्वमा रहेको तीन बिघा जमिन उपयोग गर्नेबारे छलफल भइरहेको बताइएको छ ।
नगरपालिकाले गत वर्ष पनि डम्पिङ साइटका लागि बजेट छुट्याएको थियो । तर, त्यसको कार्यान्वयनका लागि योजना नहुँदा बजेट कार्यान्वयन हुन सकेन । नगरपालिकाले दुई वर्षदेखि डम्पिङ साइटका लागि जग्गा खोजी गरेको भए पनि जमिनको व्यवस्था हुन नसकेको नगरप्रमुख रोहितकुमार शाहले बताउनुभयो । जमिनको व्यवस्था नभएकै कारण विनियोजित रकम समेत खर्च हुन सकेका छैन । यस वर्ष पनि जमिनको व्यवस्था र कार्ययोजना तय हुन सकेको छैन । जसका कारण बजेट कार्यान्वयनमा अझै शंका छ । तर, नगरप्रमुख शाहले भने यस वर्ष बजेट फ्रिज हुन नदिने गरी तयारीमा लागेको बताउनु भएको छ ।
नगरले प्रमुख महत्व दिएका चार वटा योजनामध्ये १२ बिघाको पोखरीमा घेराबारा गरिएको र नयाँ डिपिआर समेत बन्ने प्रक्रियामा रहेको प्रमुख शाहले बताउनुभयो । यस वर्ष समेत प्रदेश सरकारसँगको सहकार्यमा पोखरी व्यवस्थापन, पूर्वाधार निर्माण तथा प्रवद्र्धनको काम गरिने जनाइएको छ । अन्य तीन वटा योजना बसपार्क, खेलमैदान र डम्पिङ साइट निर्माणको योजना भने अन्यौलमै छ ।
गत असार ३१ मा पारित आर्थिक वर्षको बजेट पुस्तिका गौरादह नगरपालिकाले केही दिन अघि सार्वजनिक ग¥यो । कुल ८५ करोड ५२ लाख रुपैयाँको बजेटमा भरसक सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ । जसमध्ये केही नगरका महत्वपूर्ण भनिएका कार्यक्रममा अन्य भन्दा ठूलो अंक रकम समेत विनियोजन गरिएको छ । तर, यी कार्यक्रम कहाँ र कसरी कार्यान्वयन गर्ने भन्ने योजनै छैन । गौरादहका पोखरीहरुको प्रवद्र्धन र विकास, बसपार्क निर्माण, खेलमैदान निर्माण तथा डम्पिङ साइट निर्माण नगरले प्राथमिकतासहित बजेट विनियोजन गरेका कार्यक्रम हुन् । यी प्रत्येक कार्यक्रमका लागि १÷१ करोड रुपैयाँ विनियोजन गरिएको छ । तर, यी चारमध्ये पोखरीको विकास र प्रवद्र्धनको कार्यक्रम गत वर्षदेखि नै कार्यान्वयनमा रहेको छ भने बाँकी तीन कार्यक्रमका लागि योजना बनिसकेको छैन । नगरपालिकाका प्रमुख रोहितकुमार शाहले नगरका लागि यी कार्यक्रम महत्वपूर्ण ठानिएकाले रकम विनियोजन गरिएको र अब काम शुरु गर्ने दाबी गर्नु भएको छ । ०००००

Share.

Leave A Reply