‘तपाईहरु जागिरे मात्र होइन, यो देशको नागरिक पनि हो’ : मन्त्री कार्की

0

विर्तामोड, ३ मंसिर ।


प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले ‘म अघि बढ्छु’ अभियान कार्यक्रम समाज रुपमान्तरणका लागि महत्वपूर्ण भएको बताउनुभएको छ । उहाँले सभ्य समाज निर्माणको लागि प्रदेश सरकारको कार्यक्रम प्रभावकारी कार्यान्वय गर्न सरोकारवालालाई निर्देशन समेत दिनु भएको छ ।
आज बिर्तामोडमा आयोजित शिक्षक नायक अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले १३ देखि १९ वर्ष उमेरका पुस्तालाई सही बाटोमा डोहो¥याउन म अघि बढ्छु कार्यक्रम ल्याएको जानकारी दिनुभयो । सो कार्यक्रमले टिनेजर पुस्तालाई गलत बाटोमा लाग्नबाट बचाउने बताउनु भएको छ ।
‘समाजमा टिनेजरको अवस्था भयावह छ’, मन्त्री कार्कीले भन्नुभयो – ‘लागुपदार्थ दुव्र्यसनको कारण भोलीको समाज नै डरलाग्दो बन्ने देखेर यो कार्यक्रम प्रदेशमा अघि बढाइएको हो ।’
‘हरेक विधालयमा सगरमाथा टिन्स क्लव गठन गरेर बेलैमा सचेत बनाउँदा भविष्यमा ठुलो समस्या आउँदैन, हाम्रो चहाना त्यहि हो’, उहाँले भन्नुभयो – ‘कार्यक्रम सामान्य देखिए पनि यसको परिणाम ठुलो हुनेछ ।’ शिक्षक नायकलाई अभिमुखिकरण प्रदान गर्दै मन्त्री कार्कीले समाज बनाउन सबैको दायित्व रहेको भन्दै शिक्षकको दायित्व झनै धेरै रहेको भनाइ राख्नुभयो । उहाँले शिक्षकहरुलाई भन्नुभयो, ‘तपाईहरु जागिरे मात्र होइन, यो देशको नागरिक पनि हो ।’


सबै मिलेर सभ्य समाजको निर्माण गरौं । विधार्थी उमेरमै राम्रो कुराको ज्ञान दिन सकियो भने विधार्थी बाटोमा लाग्ने र लक्ष्य हासिल गर्ने मन्त्री कार्कीको तर्क छ । लागुऔषधले धेरैको परिवार तहसनहस भएको छ । यदि परिवार राम्रो बनाउन सक्यौं भने समाज र राष्ट्र पनि राम्रो बन्ने उहाँले थप्नुभयो । झापाको मेचीनगर, बिर्तामोड, बुद्धशान्ति, शिवसताक्षी, कनकाई र अर्जुनधाराका शिक्षक नायकलाई सहभागी गराइएको कार्यक्रममा प्रदेश सांसदद्वय झलकसिंह दर्लामी र एकराज कार्की, जिसस झापाका प्रमुख सोमनाथ पोर्तेल, बिर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटी, कार्यक्रमका प्रदेश संयोजक रवि खनाल लगायतले मन्तब्य राख्नु भएको थियो ।
जिसस प्रमुख पोर्तेलले अहिलेको शिक्षा बोइलर कुखुरा जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले शिक्षकलाई आग्रह गर्दै शिक्षालाई लोकल कुखुरा जस्तो बनाइनु पर्ने बताउनुभयो । सामाजिक चेतना समेत विधार्थीलाई आवश्यक भएको पोर्तेलको भनाई छ ।
म अघि बढ्छु कार्यक्रमको मुल उदेश्य युवाहरुलाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान, अनुशासित बनाउने हो । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली लगायतले प्रशिक्षण प्रदान गर्नु भएको झापाका कार्यक्रम संयोजक डम्बर अधिकारीले जानकारी दिनुभयो । ०००००००

Share.

Leave A Reply