देशमा महिला उद्यमी वृद्धि गर्न १३९५ जना महिलालाई बिना धितो ऋण प्रदान

0

विर्तामोड, ४ मंसिर ।


महिला उद्यमी महासङ्घ नेपालबाट देशमा महिला उद्यमी वृद्धि गर्न एक हजार ३९५ महिलालाई बिना धितो ऋण प्रदान गरिएको छ । महासङ्घले आयोजना गरेको ‘प्रथम महिला उद्यमी भेला’ मा उक्त विषयको जानकारी दिइएको हो ।
राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले मुलुकको विकास र समृद्धिका लागि महिला उद्यमशीलताको आवश्यकता औँल्याउँदै महिलाले उत्पादन गरेका हस्तकला, सिलाइबुनाइ, तथा सेवाजन्य वस्तु स्वदेशमा उपभोग बढाउनुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले घरपरिवारको जिम्मेवारी सम्हालेर महिला वर्गले उद्यमी बन्नु चुनौतीपूर्ण रहेको बताउँदै महिला उद्यमीले सञ्चालन गरेका अधिकांश उद्योगको अवस्था राम्रो रहेको बताउनुभयो ।
समारोहमा उद्यमीहरु शान्ति चड्डा, सुप्रिया शाक्य, प्रशन्ना बस्नेत लगायतले देशमा बर्सेनि बढिरहेको व्यापार घाटा न्यूनीकरण गर्न महिला वर्गमा उद्यमशीलताको विकास गर्न खाँचो औँल्याउनुभयो ।
महासङ्घका अध्यक्ष शारदा रिजालले करिब डेढ दशकअगाडि स्थापना भएको उक्त संस्थाले औद्योगिक नीति निर्माण तथा निर्णय प्रक्रियामा महिला उद्यमीको हकअधिकारका बारेमा वकालत गर्दै आएको बताउनुभयो । यसअघि माइतीघर मण्डलामा भेला भएका महिला उद्यमी पदयात्रासहित कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुगेर समारोहमा समायोजित भएका थिए । ००००००

Share.

Leave A Reply