मेची नदीमा बनाइएको अस्थायी बाँसे पुल अज्ञात समूहद्वारा जलाउने प्रयास

0

विर्तामोड, ४ मंसिर ।


नेपाल–भारत सीमामा रहेको मेची नदीमा बनाइएको अस्थायी बाँसे पुल अज्ञात समूहले जलाउने प्रयास गरिएको छ । १०९ नम्बर सीमा पिलर रहेको भद्रपुर नगरपालिका–३ स्थित भैसाबाडी नाकामा पर्ने मेची नदीमा स्थानीयले सहजताका लागि अस्थायी बाँसे पुल बनाएका छन् । पुलदेखि भारतीय भूमि ५०० मिटर दूरीमा पर्छ ।
वडा नम्बर ३ को कार्यालयको समन्वयमा भैसाबाडी टोल विकास समितिले स्थानीयबाट आर्थिक सङ्कलन गरी बनाएका बाँसे पुल मंगलबार राति जलाउने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ‘बाँसे पुलको बीच भागमा आगो लगाइएको छ,’ प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले भन्नुभयो, ‘आगोबाट पुलको केही बाँसका भाटा मात्र जलेको छ ।’
पुलमा आगो कसले किन लगाएको हो भन्ने बारेमा सीमा प्रहरी चौकी पृथ्वीनगरले अनुसन्धान गरिरहेको छ । भैसाबाडी टोल विकास समितिका निमलाल गणेश र पल्टन गणेशको नेतृत्वमा नदीमा बाँसे पुल बनाइएको हो । पुल तरे बापत समितिले ५ देखि २० रुपैयाँसम्म शुल्क लिने गरेको स्थानीयको भनाइ छ । पुल निर्माण गर्न योजना गरेभन्दा बढी बजेट लागेकाले पुल तर्न स्थानीयबाट शुल्क उठाउने गरिएको समितिले बताइको छ । ००००००

Share.

Leave A Reply