ओली ५ वर्ष नै प्रधानमन्त्री, दाहाल कार्यकारी अध्यक्ष, भोलि मन्त्रिमण्डल हेरफेर हुने

0

विर्तामोड, ४ मंसिर ।


नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनमा कार्यकारी भूमिका पाउनु भएको छ । आज प्रधानमन्त्री निवासमा बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्षमध्ये प्रधानमन्त्री ओलीले सरकारको र दाहालले पार्टी सञ्चालनमा कार्यकारी भूमिका सहितको जिम्मेवारी लिने निर्णय गरेको हो ।
दुई अध्यक्षको वरियतामा ओलीको पहिलो र दाहालको दोस्रो यथावत रहनेछ । सचिवालय स्रोतका अनुसार बैठकको अध्यक्षता संयुक्त रुपमा गर्ने भए तापनि सञ्चालन दाहालले गर्नुहुनेछ । केही समयदेखि पार्टीमा एक व्यक्ति एक पद को जिम्मेवारी हुनुपर्ने एजेण्डा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आउनु भएको थियो । सचिवालयको आजको निर्णयसँगै ओली पाँचै वर्ष प्रधानमन्त्री हुने निश्चित भएको छ ।
यसैबीच, मन्त्रिमण्डल पुनर्गठन आज नहुने भएको छ । नेकपा सचिवालय बैठकपछि बालुवाटारमा बसेका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बाहिरिएसँगै मन्त्रिमण्डल विस्तार आज नहुने भएको हो ।
प्रधानमन्त्री ओलीले आज नै मन्त्रिमण्डल पुनर्गठन तयारी गर्नु भएको थियो । तर, दुवै अध्यक्ष याक एण्ड यति होटेलमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा जाने भएकाले मन्त्रिपरिषद् पुनर्गठन भोलिसम्मका लागि सरेको हो । ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि अध्यक्ष दाहालसँग पटक पटक छलफल गर्नु भएको थियो ।
आज नै बसेको सचिवालय बैठकमा पनि मन्त्री हेरफेरबारे कुराकानी भएको थियो । नेकपामा महासचिव विष्णु पौडेलले हेरफेर हुने मन्त्रीहरुको सुची तयार भइसकेको जनाउँदै अब दुवै अध्यक्षले त्यसलाई अन्तिम रुप दिने जानकारी दिनुभयो । मन्त्रिपरिषद् हेरफेर हुने भएपछि आज अधिकांश मन्त्रीहरु मन्त्रालय गएनन् । श्रम मन्त्री गोकर्ण विस्टसहितका केही मन्त्री मात्रै मन्त्रालयमा जानु भएको थियो । पाँचदेखि १० जना मन्त्री हेरफेरको तयारी भएको छ । तर, बाहिरिने र भित्रिने मन्त्रीहरुको सूची अध्यक्षद्वयसँग मात्रै रहेको महासचिव पौडेलले जानकारी दिनुभयो । ०००००

Share.

Leave A Reply