झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोड निर्माण सम्पन्न हुन ५३ दिन बाँकी

0

विर्तामोड, ६ मंसिर ।


झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोड निर्माण समयमा सम्पन्न नहुने देखिएको छ । २०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्नु पर्ने गरी सम्झौता भएको भए पनि सो समयमा निर्माण हुने अवस्था छैन । ५३ दिन बाँकी रहँदा पनि कामले गति नलिएको डिभिजन सडक कार्यालयको स्वीकारोक्ति छ ।
यो बाटो निर्माणका विषयमा धेरैको चासो भए पनि सम्वन्धित पक्ष मौन छ । ठेक्का लिने निर्माण कम्पनी कसको हो ? प्रतिनिधि कस्ता छन् भन्ने सायदै कसैले देखेका छन् । श्री आशिष – प्रेरा जेभी नयाँ बाटो ललितपुरले ठेक्का लिएको बोर्ड निर्माण स्थलमा भए पनि उनका प्रतिनिधि छैनन् । आशिष – प्रेरा जेभीबाट पेटी कन्ट्याक्ट लिने राजकिशोर गुप्ताले माटो खन्ने काम गरेका छन् । तर, उनी पनि हाल सम्पर्क विहीन जस्तै भएका छन् । काम गराइरहेका छैनन् ।
डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले कामको गती सुस्त भएको स्वीकार गर्दै भन्नुभयो, ‘यो सडक समयमै बनाउन धेरै मिहिनेत गरेको छु ।’ तर, निर्माण स्थलमा भने उहाँको मिहिनेत देखिँदैन ।
बाटो निर्माण सम्पन्न हुने मिति भनेर साइडमा लेखिएको बोर्डमा २०७६ असोज २३ गते उल्लेख छ । तर, ठेकेदारलाई दिएको सम्झौतामा २०७६ पुस मसान्त उल्लेख भएको इन्जिनियर यादवले बताउनुभयो । सार्वजनिक खरिद ऐनमा रहेको ६ महिना म्याद थप्न सकिने छिद्र खोजेर लिङ्गरिङ गर्ने काम हुने निश्चित जस्तै देखिएको छ । भद्रपुर रोडको ठेक्काको म्याद कहिलेसम्मलाई थप गरिदिनुभयो भन्ने रेडियो भिजनको प्रश्नमा इन्जिनियर यादवले हालसम्म म्याद थप नभएको दाबी गर्नु भएको छ । तर, उहाँले विर्तामोड नगरपालिकाले म्याद थप्न सिफारिस गरेको जानकारी दिनुभयो ।
म्याद थपका लागि सिफारिस गर्नु भएको हो भन्ने प्रश्नमा विर्तामोड नगरका प्रशासन प्रमुख, अधिकृत देवराज कार्कीले ठेक्का लाग्ना साथ वर्षाको समयमा काम सुरु गर्न नदिएकाले ठेकेदारले सो समयको म्याद थपका लागि दाबी गरेको हुनसक्ने जिकिर गर्नुभयो ।
विर्तामोडको भद्रपुर रोडमा विर्तावजारसम्म ४ लेन र त्यसपछि २ लेन निर्माण हुने पहिलेको ठेक्का थियो । पछि प्रधानमन्त्रीको निर्देशनमा सबै ४ लेनको बनाउने भनेर ठेक्का थप भएको छ । सो विषयलाई समेत देखाएर म्याद थप माग्न सक्ने बताउँदै डिभिजन सडक कार्यालय प्रमुख यादवले भन्नुभयो, ‘अहिलेसम्म म्याद थपेको छैन, कामको गतिले थप्न उपयुक्त पनि छैन । काम छोड्न पनि नछोड्ने, काम पनि नगर्ने अवस्था छ । एक हप्तामा केही रिजल्ट देखिन्छ ।’
उहाँले पुस मसान्त सम्ममा नै काम सक्नु पर्ने सम्झौता रहेको बताउनुभयो । ००००००

Share.

Leave A Reply