झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोड निर्माण रोक्न झापा सिटी कन्ट्रक्सनका प्रोपाइटर शम्भु भण्डारीको दवाव, एक सेकेण्ड पनि काम रोक्न नदिने सांसद खरेलको चेतावनी

0

विर्तामोड, ११ मंसिर ।

शम्भु भण्डारीले दवाव दिनुअघि खिचेर फेसबुकमा हालेको तस्वीर

झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोड निर्माण रोक्न झापा सिटी कन्ट्रक्सनका प्रोपाइटर शम्भु भण्डारीले दवाव दिनु भएको छ । आफुहरुको गिटी, वालुवा लगायतका सामग्रीको राजकिशोर गुप्ताले भुक्तानी नदिएको भन्दै बाटो बनाउन रोक्न भण्डारीले चेतावनी दिएको बताउनुभयो । ‘मेरो २५–३० लाख, राजकुमार थापाजीको ६०–७० लाख, सुवासजीको १५–२० लाख रुपैयाँ ठेकेदार राजकिशोर गुप्ताले भुक्तानी दिन बाँकी छ, त्यो पैसा नदिएसम्म काम अगाडि बढाउन दिँदैनौं’, झापा सिटी कन्ट्रक्सनका प्रोपाइटर शम्भु भण्डारीले भन्नुभयो, ‘पहिले हाम्रो पैसा पाउनु पर्यो, अनि मात्र काम अगाडि बढ्छ ।’ उहाँले आफुलाई समाचारमा राष्ट्रिय युवा संघ नेपाल झापाको अध्यक्ष भनेर नलेखिदिन आग्रह गर्दै निर्माण व्यवसायीका रुपमा आफुले काम रोक्न भनेको जिकिर गर्नुभयो । भण्डारी संघको अध्यक्ष र राजकुमार थापा प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।
तर, बाटोको कामको ठेक्का लिएको आशिस प्रेरा जेभीका प्रोपाइटर विकास मल्लले डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवसहित बसेर हिसाव गर्न बोलाउँदा भण्डारी भने राजकिशोर गुप्तालाई लिएर प्रधानमन्त्रीको सचिवालय अगाडि फोटो खिच्न पुग्नु भएको देखिएको छ । भण्डारीले फोटो आफ्नो फेसबुकमा नै अपलोड गर्नु भएको छ ।
बाटो रोक्न दवाव आएको विषयमा नेकपा नेतृ एवम् झापा क्षेत्र नम्वर २ का संघीय सांसद पवित्रा निरौला खरेलसँग सम्पर्क गर्दा झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोड निर्माण एक सेकेण्ड पनि रोक्न नदिइने बताउनु भएको छ । रेडियो भिजनसँग कुरा गर्दै सांसद खरेलले कसैको हिसावकिताव मिलाउनु भए सम्वन्धितहरु बसेर हिसाव मिलाउन सुझाव दिँदै बाटोको निर्माण एक सेकेण्ड पनि रोक्न नदिने बताउनु भएको हो । ‘जनतालाई सास्ती भएको छ, समयमा काम सकिनु पर्छ भनेर हामी रातदिन घच्घच्याउन लागेका छौं’, सांसद खरेलले भन्नुभयो, ‘विकासका काममा अवरोध पुर्याउनेलाई प्रशासनले कार्वाही गर्छ ।’


राजकिशोर गुप्ताले पेटीकन्ट्याक्टमा काम लिएदेखि नै नेकपा नेता रघुवीर महासेठको मान्छे हुँ भन्ने र कांग्रेस नेता विमलेन्द्र निधिबाट स्थानीय अगुवालाई फोन गराउने तथा समयमा काम नगर्ने गर्दै आएका थिए । २०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्नु पर्ने गरी करसहित २७ करोड, ९ लाख ७० हजार ९६ रुपैयाँमा सम्झौता भएको भए पनि सो समयमा निर्माण नहुने अवस्था देखिएपछि जनप्रतिनिधि र स्थानीयको दवावमा कामलाई तीब्रता दिन डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले आशिस प्रेरा जेभीलाई दवाव दिनु भएको थियो । सडकबाट हालसम्म भ्याट बाहेक सो सडकको ६ करोड ४५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । काम सक्नु पर्ने समय ४८ दिन मात्र बाँकी छ । ‘आशिस प्रेरा जेभीले लेवर, मिस्त्री, सुपरभाइजर, इन्जिनियर कसलाई काममा लगाउँछ, त्यो हाम्रो सरोकारको विषय होइन’, डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भन्नुभयो, ‘समयमा तोकिएको गुणस्तर अनुसारको काम आशिस प्रेरा जेभीले गर्नुपर्छ, त्यो नगरे कानुन अनुसार कार्वाही गर्छौं ।’
काम गर्न चुनौती देखिएको पछिल्लो समयमा सडक निर्माण गरिरहनु भएका निर्माण व्यवसायी केदार गिरीले बताउनु भएको छ । ‘आज १२ वजेदेखि काम नगर्नु भनेर शम्भु भण्डारी र राजकुमार थापाले दवाव दिएका छन्’, व्यवसायी गिरीले भन्नुभयो, ‘काम त गर्दै छौं, समन्वयको काम पनि हुँदैछ ।’
बाटो निर्माण सम्पन्न हुने मिति भनेर साइडमा लेखिएको बोर्डमा २०७६ असोज २३ गते उल्लेख छ । तर, ठेकेदारलाई दिएको सम्झौतामा २०७६ पुस मसान्त उल्लेख भएको इन्जिनियर यादवले बताउनुभयो ।
विर्तामोडको भद्रपुर रोडमा विर्तावजारसम्म ४ लेन र त्यसपछि २ लेन निर्माण हुने पहिलेको ठेक्का थियो । पछि प्रधानमन्त्रीको निर्देशनमा सबै ४ लेनको बनाउने भनेर ठेक्का थप भएको छ । प्रमुख यादवले पुस मसान्त सम्ममा नै काम सक्नु पर्ने सम्झौता रहेको बताउनुभयो । ००००००

Share.

Leave A Reply