सागको पुरुष भलिबलमा नेपाल समूह चरणबाट नै बाहिरियो

0

विर्तामोड, १३ मंसिर ।


दक्षिण एसियाली खेलकुद (साग) को पुरुष भलिबलमा नेपाल समूह चरणबाट नै बाहिरिएको छ । लगातार दुई खेलमा हार बेहोरेसँगै नेपाली पुरुष भलिबलको यात्रा समूह चरणमै रोकिएको हो ।
आज भारतसँग ३–० को सोझो सेटमै हार बेहोरेपछि नेपालको यात्रा टुंगिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो सेट २५–१६ ले गुमायो । पहिलो सेटमा नेपालले सर्भिस र रिसिभमा कमजोरी देखाएको थियो ।
दोस्रो सेटमा नेपालले सुरुवाति तीन अंक बटुलेको थियो । एक समय पाँच–तीनको अवस्थामा रहेको नेपाल खेल अगाडि बढेसँगै १३–६ मा पुगेको थियो । भारतसँगको खेलमा पनि नेपालको रिसिभमा समस्या देखियो । यसका साथै नेपालले प्रहार गरेका सटहरु कोर्ट बाहिर गएका थिए । मानसिक रुपमा नै नर्भस भएका नेपाली खेलाडीले कमब्याक गर्न सकेनन् । १६–६ को अवस्थामा रहेको दोस्रो सेटमा त्यसपछि नेपालले अरु ७ अंक जोड्दा भारतले २५–१३ ले जित्यो ।
तेस्रो सेटमा नेपालले केही सुधारिएको प्रदर्शन गरेको थियो । जसमा नेपाल एक समय सात–पाँचको अवस्थामा थियो । तर, भारतको जोडदार प्रहारविरुद्ध नेपालका खेलाडी निकै निरीह देखिए । त्यसमा पनि सर्भिसमा पनि कमजोर देखियो ।
तेस्रो सेटको मध्यतिर भारत १२–१६ ले अगाडि रहेको थियो । त्यसपछि पनि भारतले आफ्नो दबदबा कायमै राख्दै सेट २५–१६ ले सेट जित्यो ।
यसअघि नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । समूह ए बाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् । ००००००

Share.

Leave A Reply