उपचुनाव भएका सबै ठाउँको नतिजा सार्वजनिक, नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी

0

विर्तामोड, १६ मंसिर ।

उपचुनाव भएका सबै ५२ ठाउँको नतिजा सार्वजनिक भएको छ । धरान उपमहानगरपालिको प्रमुखमा नेपाली कांग्रेसका तीलक राई निर्वाचित हुनु भएको छ । र, धरानकै वडा नं. ७ को वडाध्यक्षमा एक मत अन्तरले नेकपाका जीवन सुवेदी विजयी हुनु भएको मतपरिणाम सार्वजनिक भएको हो । सबै ठाउँको मतपरिणाम सार्वजनिक हुँदा सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी भएका छन् ।
प्रतिनिधिसभातर्फ उपचुनाव भएको एक मात्र कास्की २ मा नेकपाले जित दोहोर्याएको छ । यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक विद्या भट्टराई निर्वाचित हुनुभएको छ ।
प्रदेशसभाअन्तर्गत भक्तपुर १ (क) मा नेकपाले आफ्नो सिट गुमाएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभातर्फ भने दाङमा नेकपाले र बागलुङमा राष्ट्रिय जनमोर्चाले जित दोहोर्याएका छन् । उपचुनाव भएको तीन गाउँपालिकाको अध्यक्षमा संखुवासभाको मकालुमा नेकपाले जित दोर्होयाएको छ । यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द र राजपाले जितेको महोत्तरीको पिपरामा पनि नेकपा विजयी भएको छ । एउटा प्रदेशसभा गुमाएको नेकपालाई दुई गाउँपालिकामा फाइदा भएको छ । एउटा गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा विजयी भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी भएको हो । यसअघि त्यहाँ कांग्रेसले जितेको थियो ।
उपचुनाव भएको ४३ वडामध्ये कांग्रेस र नेकपाबीच केही स्थानमा साटफेर भएको छ । यसअघि कांग्रेसले जितेका ७ वडामा नेकपा र यसअघि नेकपाले जितेका ६ वडामा कांग्रेस विजयी भएको छ । प्रदेशसभामा जित दोहोर्याउन सफल राष्ट्रिय जनमोर्चाले यसअघि जितेको एउटा वडा चाहिँ गुमाएको छ । समाजवादीले यसअघिको दुई वटा वडा बढाएर चार र्पुयाएको छ भने एउटा गाउँपालिका गुमाएको राजपाले दुई वटा वडामा जित दोहोर्याउँदै एउटा वडा थपेको छ । साझा र विकेकशील पार्टीले चर्चा अनुसार कहीँ पनि उल्लेखनीय मत ल्याउन सकेनन् । पहिलोपटक चुनावमा भाग लिएको सिके राउतको पार्टीको मत पनि नगन्य आएको छ । ००००००

Share.

Leave A Reply