झापाको दमकस्थित युएनएचसिआरको कार्यालय अगाडि भूटानी शरणार्थीद्वारा स्वदेश फर्किन पाउनुपर्ने माग राख्दै प्रदर्शन

0

विर्तामोड, १८ मंसिर ।

झापाको दमकस्थित शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसिआर) को कार्यालय अगाडि भूटानी शरणार्थीले स्वदेश फर्किन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् । करिब तीन दशकदेखि झापा र मोरङका शिविरमा बस्दै आएका शरणार्थीमध्ये स्वदेश फर्कन चाहने शरणार्थीले प्रदर्शन गर्दै युएनएचसिआरको शाखा कार्यालयमा पुगेर त्यस्तो ज्ञापन पत्रसमेत बुझाएका हुन् ।
आफ्नो थातथलो प्राप्तिको प्रत्याभूतिसहित घर फिर्ती गराउन युएनएचसिआरको सहयोग चाहिने उनीहरुको माग छ । प्रदर्शनमा उत्रिएका शरणार्थीले कार्यालय अगाडि सुतेर स्वदेश फिर्तीको माग राखेर नारासमेत लगाएका थिए ।
राष्ट्रिय पुनर्मिलन समिति भूटानको आयोजनामा निकालिएको ¥यालीले युएनएचसिआर दमक शाखाका प्रमुख खालिद फान्सामार्फत संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसलाई पाँचबुँदे मागसहितको ज्ञापनपत्र पठाइएको समितिका अध्यक्ष कृष्णवीर तामाङले बताउनुभयो ।
झण्डै तीन दशकदेखि शरणार्थी भएर बस्दा सामाजिक, आर्थिक र पारिवारिक संरचना सबै ध्वस्त भएको उल्लेख गरिएको छ । समितिले मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्रको धारा १३ को उपधारा २ को सम्मानपूर्वक घर फिर्ती हुन पाउने अधिकार सुनिश्चित गर्न आफूहरुले संयुक्त राष्ट्रसङ्घको ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाइएको अध्यक्ष तामाङले बताउनुभयो । हाल मोरङको पथरी र झापाको बेलडाँगी शरणार्थी शिविरमा सात हजार हाराहारीमा भूटानी शरणार्थी रहेका छन् । ०००००

Share.

Leave A Reply